महाधिवेशन केन्द्रित बन्यो एकीकृत समाजवादी, के छ अपानिमा?
नेकपा (एकीकृत समाजवादी)ले अहिले अन्य पार्टीसँग एकताभन्दा पनि महाधिवेशनमा जोड दिएको छ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै महाधिवेशनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। १३ पृष्ठ लामो अपानिमा आगामी महाधिवेशनको तयारीको विषय उल्लेख गरिएको छ।
अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरिएको छ। त्यस्तै, घनश्याम भुसाललाई सचिव तोकिएको छ भने केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई सदस्य तोकिएको छ।
त्यस्तै, पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा अतिथि सत्कार कमिटी गठन गरिएको छ। वेदुराम भुसालको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी, प्रमेश हमालको नेतृत्वमा अर्थ व्यवस्थापन कमिटी, रामचन्द्र झाको नेतृत्वमा संस्कृति तथा कला साहित्य कमिटी, विजय पौडेलको नेतृत्वमा जनपरिचालन तथा यातायात कमिटी गठन गरिएको छ।
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आउँदो जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुँदै छ।