भाडामा बस्ने परिवार तीन दशकमा तीन गुणा, बागमतीमा धेरै
देशमा भाडाको घरमा बस्ने परिवारको संख्या बढिरहेको तथ्यांकले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ को विश्लेषणात्मक प्रतिवेदनले १२.८ प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको देखाएको हो। २०६८ को जनगणनाले पनि १२.८ प्रतिशत परिवार नै भाडाको घरमा बस्ने गरेको देखाएको थियो।
यद्यपि दुई दशकअघि २०५८ सालमा ८.९ प्रतिशत मात्रै भाडाका घरमा बस्थे। तीन दशकअघि २०४८ सालमा भाडाका घरमा बस्ने परिवार ४.७ प्रतिशत मात्रै थिए।
बितेका तीन दशकमा कामको खोजीमा गाउँबाट शहरमा छिर्ने क्रम बढेसँगै भाडामा बस्ने परिवारको संख्यामा वृद्धि भएको हो। तीन दशकमा भाडाको घरमा बस्नेको अनुपात करीब तीन गुणा भएको छ।
तथ्यांकले नेपालका ८६ प्रतिशत परिवारको आफ्नै स्वामित्वमा घर रहेको देखाएको छ। तीन दशकअघि २०४८ सालको जनगणनाले ९२.६ प्रतिशत परिवारको आफ्नै स्वामित्वको घर रहेको देखाएको थियो।
जग्गाको मूल्यमा अस्वाभाविक वृद्धि तथा निर्माण लागत बढेका कारण न्यून आय भएका परिवारका लागि आफ्नै स्वामित्वको घर जोड्न थप कठिन हुँदै गएको छ।
प्रदेश अनुसार मधेश र सुदूरपश्चिमका ९५ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बस्ने गरेको र बागमतीका ६९ प्रतिशत परिवार मात्रै आफ्नै स्वामित्वको घरमा बस्ने गरेको देखिएको छ। सबैभन्दा धेरै बागमतीमा ३१ प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको तथ्यांकले देखाएको छ।
आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार देशका ८९.५ प्रतिशत परिवार पक्की घरमा बस्ने गरेका छन्। त्यस्तै, आठ प्रतिशत भने अर्धपक्की घरमा बस्ने गरेको देखिएको छ। देशका ६० प्रतिशत घर एकतले र २९ प्रतिशत घर दुईतले रहेको देखिएको छ।
देशका ४२ प्रतिशत घर २०७२ सालको भूकम्पपछि निर्माण गरिएको देखिएको छ। त्यस्तै, २१.६ प्रतिशत घर बितेका आठदेखि १४ वर्षको अवधिमा निर्माण भएका छन्। देशका १२ प्रतिशत परिवारले घर बनाउन कुनै न कुनै सरकारी अनुदान पाएको तथ्यांकले देखाएको छ।