कोशी र लुम्बिनीको फेरि नामकरणका लागि आन्दोलन गर्ने जनमतको निर्णय
सीके राउत नेतृत्वको जनमत पार्टीले कोशी प्रदेशको फेरि नामकरण र लुम्बिनी प्रदेशको पुनःसीमांकनको माग गरी आन्दोलन गर्ने निर्णय गरेको छ।
वीरगन्जमा बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले आन्दोलनको निर्णय गरेको हो। कोशीमा आन्दोलनको नेतृत्व गर्ने निर्णय भएको जनमतका सचिव बीपी साहले बताए।
जनमतले भनेको छ, ‘प्रदेश नं. १ मा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचान सहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरियो।’
यससँगै जनमतले लुम्बिनी प्रदेशको विषय पनि उठाएको छ। जनमतको निर्णयमा भनिएको छ, ‘मधेश-थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय गरियो।’
यससँगै जनमतले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधान, किसानका लागि मलखाद र समयमै बीउबीजनको सहज उपलब्धताका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ।