सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्ने नाउपाको निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।
नाउपा संसदीय दलको आइतबार बसेको बैठकले हालकै सुदूरपश्चिम प्रदेश सरकारलाई सघाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले बताए। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री समेत रहेका चौधरीले भने, “हामी अहिले पनि कांग्रेस नेतृत्वकै सरकारमा छौं, अब पनि यही सरकारलाई सघाउने निर्णय गरेका छौंं।”
नाउपा संसदीय दलको बैठकमा कैलाश चौधरी र टीका थापा बाहेक सबै उपस्थित थिए। मन्त्री चौधरीका अनुसार उनीहरू दुवै जनालाई पनि सरकारमा ल्याउने गरी छलफल भइरहेको छ।
यसअघि नाउपा अध्यक्ष रञ्जिता चौधरी र पूर्व अध्यक्ष रेशम चौधरीको विवादले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने टुंगो लाग्न सकेको थिएन। दुवै जनाबीचको विवाद साम्य भएसँगै नाउपा संसदीय दलले निर्णय गरेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुपर्ने भएको छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि नाउपाको समर्थन जुटाउन खोजेका हुन्।
प्रदेश सभामा नाउपाका सात सांसद छन्। उनीहरूमध्ये पाँच जना मन्त्री बनेका छन्। यससँगै नाउपाले शाहलाई नै विश्वासको मत दिने भएको छ।
५३ सदस्यीय प्रदेश सभामा हाल ५२ सांसद छन्। बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेससँग १८ सांसद छन्।
कांग्रेस र नाउपाका गरी २५ सांसद हुन्छन्। थप दुई सांसद जुटाउन मुख्यमन्त्री शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदको साथ खोजिरहेका छन्। राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।