माओवादीसँगको एकता सहमति खारेज गर्ने बाबुराम पक्षको निर्णय
नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने सहमति खारेज गरेको छ।
बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता शर्माले भने, “दुईतिहाइ केन्द्रीय सदस्यहरूको बैठकले माओवादीसँगको एकता गर्ने सहमति खारेज गरेको छ।”
नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले शनिबार माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित दुवै पक्षका नेताहरूको बैठकले एकताका लागि चारबुँदे सहमति गरेको थियो। सहमति गर्दाको बैठकमा अध्यक्ष भट्टराई भने सहभागी थिएनन्।
आज अध्यक्ष भट्टराईले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। बैठकमा २० जना केन्द्रीय सदस्य सहभागी थिए। नेसपाका केन्द्रीय कार्यकारिणी समितिमा अहिले ३० जना छन्। आजको बैठकमा भने अर्का अध्यक्ष यादव पक्षका केन्द्रीय सदस्य सहभागी भएनन्।
आइतबारको बैठकले सहमतिलाई खारेज गरेको छ भने थप निर्णय गर्न सोमबार बैठक बस्ने भएको छ। सोमबारको बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने शर्माले बताए।