करफोकमा नेपथ्यले बाँडेको सांगीतिक उल्लास
फिक्कलबाट सदरमुकाम इलाम बजार जोड्ने राजमार्गछेउकै करफोक विद्यामन्दिर परिसर प्राय: शनिबार सुनसान हुन्छ। चैत ३ गते भने यस विद्यालयको फराकिलो चौरमा बाक्लो चहलपहल र उल्लास छायो। सन्दर्थ थियो, लोक-रक ब्यान्ड नेपथ्यको कन्सर्ट।
सधैं शहर-बजारको भीडभाडमा संगीत पस्किने गरेको नेपथ्यले पहिलो पटक आफूलाई प्रकृतिको काखमा आफूलाई प्रस्तुत गर्यो। इलामको सूर्योदय नगरपालिकास्थित धूपी-सल्लाका जंगलबीचको पाखामा ब्यान्डले गीति भाका गुन्जायो।
विभिन्न ठाउँबाट भेला भएका दर्शकमाझ सन्ध्याकालमा ब्यान्डका मुख्य गायक अमृत गुरुङले यसै भेगबाट संकलित गीत ‘कोशीको पानी यो जिन्दगानी’ बाट कन्सर्टको थालनी गरेका थिए।
अमृतले इलामको सुन्दरताको बयान गर्दै कवि भूपी शेरचनको पुरानो भनाइ स्मरण गरे, “सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थें।” उनले उपस्थित दर्शकलाई नेपालमा जताततै रमाइला पर्यटकीय ठाउँ भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आह्वान पनि गरे।
कन्सर्टमा नेपथ्यका सदाबहार हिट गीतहरूका साथै भर्खरै रिलिज भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ पनि प्रस्तुत गरिएको थियो।
युवायुवतीको बाहुल्य रहेको भीडमा दर्शकबीच विविधता पनि उत्तिकै देखिन्थ्यो।
काठमाडौंको सञ्चारकर्ममा धेरै वर्ष बिताएका लेखक केदार शर्मा पछिल्लो समय करफोकस्थित जन्मथलोमै आएर बसोबास गर्न थालेका छन्। शनिबार घर छेवैको मैदानमा आयोजित नेपथ्य कन्सर्टमा उनी पनि भेटिए।
“धेरै पहिलेदेखिको चिनजान भए पनि नेपथ्यको कन्सर्ट हेर्ने अवसर आफ्नै आँगनमा जुर्यो,” शर्माले भने, “अमृतजीको ऊर्जा हामी सबै दर्शकमा विस्तार हुँदा गजब रमाइलो लाग्दो रहेछ।”
इलामको गढीथुम्कामा निर्माणाधीन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’ ले आयोजना गरेको हो।
आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले कन्सर्टमा करीब पाँच हजार दर्शक उपस्थित भएको जानकारी दिंदै कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा खुशी साटे।
कन्सर्टको अन्त्यतिर अमृतले दर्शकसँगै ‘अब कुन गीत सुन्ने’ भनेर सोधेका थिए। त्यसमा अधिकांश दर्शकले ‘रेशम’ भनेर चिच्याए। ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि जम्मा १७ वटा गीत सुनाएर कार्यक्रम अन्त्य भएको थियो।
फिक्कल, पञ्चकन्या र कन्याम गाविस जोडेर बनाइएको सूर्योदय नगरपालिकाको सिमाना भारतसँग जोडिएको छ। नेपथ्यको संगीतमा झुम्न दाजीर्लिङबाट पनि दर्शक आइपुगेका थिए।
नगरपालिकाका मेयर रणबहादुर राईले चियाका निम्ति प्रसिद्ध इलामलाई पर्यटकीय केन्द्रका रूपमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले मद्दत गर्ने विश्वास लिएको बताए।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र कीबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
नेपथ्यले यसै महीनाको अन्त्यमा इलामकै छेउ बिर्तामोडमा कार्यक्रम गर्दै छ।