आगलागीमा एकै परिवारका तीन बालबालिकाको ज्यान गयो
अभिभावक काममा गएको वेला भएको आगलागीमा तीन भाइबहिनीको ज्यान गएको छ।
भोजपुरको हतुवागढी गाउँपालिका-७, पात्लेपानी पिप्लेका केदार कार्कीको गोठमा आगलागी भएको हो। आगलागीमा परी उनका छोरा साढे तीन वर्षीय प्रनिस, केदारका भाइ रमेशका छोराछोरी साढे पाँच वर्षीया दीपशिखा र अढाई वर्षीय दिउनिसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एउटै आँगन भएको घरका अभिभावक काममा गएको वेला आगलागी भएको वडाध्यक्ष जंगराज राईले बताए। घरमा कोही नभएका वेला आगलागी हुँदा उनीहरूको ज्यान गएको राईले बताए।
स्थानीय गैयाँराज आधारभूत विद्यालयमा दीपशिखा कक्षा १ मा र प्रनिश बालकक्षामा अध्ययनरत थिए।
गोठमा पराल र खर राखिएका कारण अभिभावक आइपुग्दा आगो नियन्त्रण बाहिर गइसकेको थियो। आगलागीको कारण खुल्न सकेको छैन।