एनआरटीले जित्यो बुढा सुब्बा गोल्ड कप
२४औं बुढा सुब्बा गोल्ड कपको उपाधि एनआरटी क्लबले जितेको छ।
धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले मोरङ फूटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। एनआरटी दोस्रो पटक च्याम्पियन बनेको छ।
उपाधिसँगै एनआरटीले १० लाख रुपैयाँ पुरस्कार पाएको छ। त्यस्तै, उपविजेता मोरङले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
एनआरटीका लागि खेलको सातौं मिनेटमा रोशन रानाको पासमा एफिज ओलावालेले गोल गरेका थिए। पहिलो हाफको ४४औं मिनेटमा मोरङका लागि उमेश कार्कीले गोल गर्दै बराबरी गरेका थिए।
दोस्रो हाफमा दुवै टोली आक्रामक बनेका थिए। खेलको ५०औं मिनेटमा सरोज तामाङले एक गोल थप्दै एनआरटीको अग्रता बढाएका थिए। मोरङले पटक पटक प्रयास गरे पनि गोल गर्न सकेन।
प्रतियोगितामा एनआरटीका सनम लिम्बू सर्वोत्कृष्ट खेलाडी बने। उनले एक लाख रुपैयाँ पुरस्कार पाए। त्यस्तै, एनआरटीका ओफिज ओलावाले र सरोज तामाङ तथा मोरङका उमेश कार्की सर्वाधिक गोलकर्ता बनेका छन्। तीनै जनाले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।
मोरङका महेन्द्र कार्की बेस्ट डिफेन्डर, एनआरटीका शिशिर लेखी बेस्ट स्ट्राइकर, एनआरटीका जय गुरुङ बेस्ट मिडफिल्डर, एनआरटीका पूजन होना बेस्ट गोलकीपर र एनआरटीका जीवन सिन्खेमना उत्कृष्ट प्रशिक्षक बनेका छन्। उनीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
धरान फूटबल क्लबको आयोजनामा फागुन २६ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।