व्यवसायीलाई गोली हानेको आरोपमा तीन भारतीय युवक पक्राउ
रौतहटमा मनी ट्रान्सफर सञ्चालक नितेश साहलाई गोली हानेको आरोपमा तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
भारतको बिहारस्थित पूर्वी चम्पारणका १९ वर्षीय मुनिफकुमार यादव, १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंहलाई पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, रौतहटले शनिबार सार्वजनिक पनि गरेको छ।
उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका-९ का २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरेको प्रहरीको भनाइ छ। शिव मनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बीआर ०६ सीएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए।
गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए। उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली, ७.६२ एमएमको अर्धस्वचालित पेस्तोल, त्यसैको म्यागजिन र पाँच राउन्ड गोली बरामद गरिएको श्रेष्ठले जानकारी दिए।
उनीहरू विरुद्ध ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयकी सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन्।
गोली लागी घाइते भएका साहको वीरगन्जमा उपचार गरिएको छ। उनको आँखामा समस्या देखिएपछि तिलगंगा आँखा अस्पताल ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ।