भारतको लोक सभा निर्वाचन तालिका सार्वजनिक, पहिलो चरणको मतदान वैशाख ७ मा
भारतमा लोक सभा चुनावको मतदान १९ अप्रिलदेखि १ जूनसम्म हुने भएको छ।
भारतीय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो चरणको मतदान आउँदो ७ वैशाख (१९ अप्रिल) मा हुनेछ। २६ अप्रिलमा दोस्रो, ७ मेमा तेस्रो, १३ मेमा चौथो, २० मेमा पाँचौं, २५ मेमा छैटौं र १ जूनमा सातौं चरणको मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
सबै चरणमा खसेको मतको गणना ४ जून (आउँदो जेठ २२)मा शुरू हुने भएको छ।
सन् २०१९ मा सम्पन्न लोक सभाको पाँचवर्षे कार्यकाल आगामी मे महीनामा सकिंदै छ। आयोगका अनुसार लोक सभाका लागि भारतमा ९६ करोड ८८ लाख २१ हजार ९२६ मतदाता छन्।
८५ वर्षभन्दा बढी उमेरका तथा ४० प्रतिशतभन्दा बढी अपांगता भएका मतदाताले चाहेमा घरबाटै मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
लोक सभाको ५४३ सीटका लागि सात चरणमा मतदान हुन लागेको हो।