सरकारले युक्रेनमा मारिए भनेका गंगाराम आफ्नै छोरा हो कि होइन खुट्याउन ज्योतिषीको सहारा
रूस-युक्रेन युद्धमा ज्यान गुमाएका सात जना नेपाली युवाबारे सरकारले अधकल्चो सूचना सार्वजनिक गरेपछि परिवारजन रनभुल्लमा छन् भने यकीन गर्न ज्योतिषीकहाँ धाइरहेका छन्।
चैत २ काे मध्याह्न, घाम चर्किसकेको थियो। झापाको हल्दीबारी गाउँपालिका-१, कपुरथानस्थित रघुनाथ अधिकारीको घरमा छिटपुट मान्छे आउने-जाने क्रम शुरू भयो। हेर्दाहेर्दै छरछिमेकीले घर भरिए।
घरधनी रघुनाथ साइकल कुदाउँदै आइरहेको टाढैबाट देखिए। आँगनमा भेला भएका मान्छे सुस्तरी बोले, “बुबा आउनुभयो, केही खबर आयो कि!”
असिनपसिन हुँदै आएका रघुनाथले साइकल अड्याउँदै भने, “ज्योतिषीले ‘केही भएको छैन, चैत १० गतेसम्म खबर आउँछ, तर मान्छे चाहिं अब फर्केर आउँदैन’ भन्यो।”
योभन्दा धेरै बोलेनन्। उनी चूपचाप घरभित्र पसे। आँगनमा पुगेका आफन्तजनले पनि थप सोध्न सकेनन्।
परराष्ट्र मन्त्रालयले चैत १ मा रूस-युक्रेन युद्धमा थप सात जना नेपाली युवाको ज्यान गएको सूची सार्वजनिक गरेको थियो। मृतकको सूचीको चौथो नम्बरमा ‘गंगाराम अधिकारी, झापा’ उल्लेख छ।
छोराको नाम, थर र जिल्ला मिल्दो व्यक्तिको विवरण परराष्ट्र मन्त्रालयले प्रकाशित गरेपछि रघुनाथ अत्तालिएर अर्को बिहानै ज्योतिषीलाई चिना देखाउन गोलधाप पुगेका थिए। ज्योतिषीलाई चिना देखाएर फर्किंदा मध्याह्न भइसकेको थियो।
रघुनाथका छोरा गंगाराम गाउँघरमा गोपाल भनेर चिनिन्छन्। परराष्ट्र मन्त्रालयले विस्तृत विवरण सार्वजनिक नगरेकाले रघुनाथको परिवार अलमलमा छ। गोपाल नै हो कि अरू गंगाराम हुन् भन्ने यकीन गर्न सकेको छैन। परिवारजनसँगै गाउँले पनि दोधारमा छन्। सरकारले अलमलमा पारेपछि रघुनाथ ज्योतिषीको शरणमा पुगेका हुन्।
रघुनाथ र उनको परिवारका सदस्यले ज्योतिषीलाई भेट्न थालेको यो पहिलो पटक भने होइन। गोपाल रूस पुगेको खबर पाएसँगै उनीहरू पटक पटक ज्योतिषीलाई भेट्न गएका छन्, छोराको हालखबर कस्तो छ भन्दै चिना बोकेर।
जति पटक पुगे पनि ज्योतिषीले एउटै जवाफ दिने गरेका छन्, ‘छोरालाई केही भएको छैन, नआत्तिनु।’
ज्योतिषीले नआत्तिनु भने पनि रघुनाथ र उनका परिवारजन ढुक्क छैनन्। छरछिमेकी पनि आत्तिएकै छन्।
रघुनाथ घर आइपुगेको केही बेरमै आफन्तहरू एक एक गर्दै आइपुगे। कोही आँशु पुछ्दै आउँथे त कोही ‘अब यस्तै भयो मन बुझाउनुपर्छ’ भन्थे।
आफन्तजन र छरछिमेकी रघुनाथको घरमा भेला हुन थालेको पनि महीनौं भइसकेकाे छ। रूसी सेनामा भर्ती भएका गंगाराम घाइते र मृत्यु भएका खबर पटक पटक आए। केहीले अस्पतालमा भेटेको भिडिओ समेत देखेको भन्ने खबर सुनाए। केहीले सन्चो हुँदै छ भन्ने खबर बोकेर ल्याए।
तर गंगारामकी पत्नी अनुराधालाई उनका श्रीमान्को वास्तविक खबर कसैले दिएनन्। कहिले छरछिमेकीले खबर लुकाउँथे, कहिले परिवारजनले। यस पटक सरकारले नै नाम सार्वजनिक गरेपछि भने सबैले सान्त्वना दिन थालेका छन्।
अनुराधा र गंगारामले एउटै विद्यालय पढेका हुन्। कक्षा ९ मा पढ्दै गर्दा प्रेमविवाह गरेका थिए। एक्ला सन्तान गंगारामले एसएलसी पूरा गरे भने अनुराधा विवाह लगत्तै गर्भवती भएपछि पढाइ छुट्यो। त्यसपछि गंगारामले पनि पढेनन्, विदेशतिर लागे। रूसी सेनामा भर्ना हुनुअघि पनि गंगाराम कतारमा थिए।
पछिल्लो १० वर्ष गंगाराम कतार र घर आवतजावत गरिरहन्थे। कतारमा मात्रै होइन, रूस पुगेपछि पनि गंगाराम अनुराधासँग दैनिकजसो कुराकानी गर्थे। “मलाई कहिल्यै फोन नगरेको याद छैन तर पछिल्लो दुई महीनायता गोपालको फोन आएन,” अनुराधा भन्छिन्, “खै यो कस्तो खबर हो? गंगाराम नै गोपाल हो कि अरू हो? केही ठम्याउन सकिएको छैन।”
अनुराधा यस्तायस्तै प्रश्न बोकेर चैत १ गतेदेखि कुर्सीमा बसेकी छन्। रुँदा रुँदा आँखा राता छन्। आफन्त भेट्न आउँदा अँगालो हाल्छिन्। कसैले सान्त्वना दिन्छन् त कसैले मन बुझाउनुपर्छ, दह्रो मन बनाऊ भन्छन्। उनी सुँक्कसुँक्क गर्दै एउटै प्रश्न गर्छिन्, “गोपाल मरिसक्यो भनेर कसरी पत्याउनु?”
सरकारसँग पनि उनको गुनासो छ, प्रश्न छ। उनी भन्छिन्, “अरू वेला त सरकारले तीनपुस्ते खोज्छ तर अहिले किन नाम र जिल्ला बाहेक थप कुनै परिचय नै खोलेन?”
एक मनले त गंगारामको परिवारले परराष्ट्र मन्त्रालयको सूचीमा रहेको नाम गोपालकै हो भनेर स्वीकार गरेको छ। फेरि अर्को मनले उनीहरूलाई सोध्दै छ- झापामा गंगाराम अधिकारी नाम गरेका गोपाल मात्रै हो त?
३३ वर्षीया गोपाल २०७८ सालको दशैं मनाएर मंसीरमा कतारका लागि उडेका थिए। कतारमा आम्दानी ठीकै थियो, घर खर्च चल्दै थियो। उनका दुई छोरा विद्यालय जाने भएका थिए। बुढ्यौली लाग्दै गरेका आमाबुबा छोराको कमाइमा सन्तुष्ट नै थिए।
२०८० को कात्तिक अन्तिमतिर गोपालले घरमा सुनाए, “कतारमा म काम गरेको कम्पनी डुब्यो, साथीहरू रूसमा राम्रो कमाइ हुन्छ भनिरहेका छन्। म पनि जान्छु।”
छोराको वचन उनीहरूले काटेनन्। यस पटक पनि स्वीकृति दिए, स्वीकृतिसँगै नपुगेको जोडजाड गर्नु भन्दै गाउँमा ऋण गरेर थोरै पैसा पनि पठाए।
कतारबाट दुबई हुँदै मस्को पुगेका गोपाल २०८० मंसीर ४ मा रूसी सेनामा भर्ना भए। झन्डै दुई महीना सैन्य तालीम पनि लिए। तालीम सकिएपछि माघ ४ मा पत्नी अनुराधा, आमा मनमाया, बुबा रघुनाथ लगायत परिवाजन र आफन्तसँग कुराकानी गरेका थिए। फोनमा भनेका थिए, “म भोलि लडाइँमा जाँदै छु, महीनौं सम्पर्क नहुन पनि सक्छ, आफ्नो ख्याल गर्नु! म फर्किएपछि फोन गर्छु, मेरो चिन्ता नगर्नु।”
त्यो रात घरमा कसैलाई निद्रा परेन। कसैले पाथीभरा पुकारे, कसैले गाउँघरमा देवीदेवतालाई।
त्यसयता अनुराधाको साथबाट पनि मोबाइल छुटेको छैन। युद्धमा गएका श्रीमान् फर्किएर आउलान्, फोन गर्लान् भन्ने आशमै छिन्, उनी। तर गोपालको फोन आएको छैन।
बरु माघ १२ मा गाउँघरमा खबर आयो, रूसी सेनामा रहेका गोपालको ज्यान गयो। गाउँलेहरू के गर्ने भन्दै उनको घर पुगे। गाउँलेलाई देखेर अनुराधा र मनमाया डाँको छोडेर रोए। तर बुबा रघुनाथले छरछिमेकीलाई भने, “यो खबर झूटो हो, मेरो छोरालाई केही भएको छैन।”
बुबाले छोरालाई ‘केही भएको छैन, घाइते मात्रै भएको हो’ भन्ने अड्डी कसेपछि गाउँलेहरू केही बोल्न सकेनन्। मुखामुख गरेर आआफ्नो घर फर्किए।
रघुनाथले अड्डी लिनुको पनि कारण थियो। त्यसको दुई दिनअघि माघ १० मा गोपाल घाइते भएको खबर आएको थियो। उनले त्यही खबरलाई साँचो ठानेका थिए।
त्यसयता कपुरथानको एकतले सेतो घरको रङ उडेको छ, उराठलाग्दो बनेको छ। छिमेकी पनि गोपालको घर जान अप्ठ्यारो मान्न थालेका छन्। अनुराधाले छिमेकीसँग भन्ने गरेकी थिइन्, “साथीहरू त हातखुट्टामा गोली लागेको भन्छन्। अस्पतालमा भए पनि मलाई त सम्झनुपर्ने हो, खै किन सम्झँदैनन्?”
माघयता त छरछिमेकी पनि रघुनाथकै भनाइ पत्याउन खोजिरहेका थिए। चैत १ को परराष्ट्र मन्त्रालयको विज्ञप्तिपछि त कसैले पनि रघुनाथलाई पत्याउन सकिराखेका छैनन्। छिमेकी टीकामाया तावा भन्छिन्, “सायद बूढा बाले आफ्नो मन बलियो बनाउन भन्नुभएको थियो होला।”
सरकारले नाम सार्वजनिक गरेपछि भने गाउँले पनि शोकमा डुबेका छन्। “मेरो घरमा रेडियो जहिल्यै बजिरहन्थ्यो, मैले त्यो साँझ र आज बिहान गोपालको नाम भन्छ होला भनेर रेडियो नै बन्द गरिदिएँ,” टीकामाया भन्छिन्, “गोपाल मरेको खबर कसरी सुन्नु?”
छरछिमेकीले गंगाराम भनेको गोपाल नै हो भन्ने विश्वास गरिसकेका छन्। परिवारजनले पनि गोपाल नै हो भन्ने मानिसकेका छन्। बुबा रघुनाथ भने गोपाल हो कि होइन भन्ने प्रमाण जुटाउन लागिपरेका छन्।
घटना विवरण मिल्दोजुल्दो भए पनि रूसी सेनामा गएका गोपालको शव नेपाल आउन सम्भव छैन भन्नेमा परिवार ढुक्क छ। त्यही भएर मृत भनिएका गंगारामको फोटो वा आमाबुबाको नामसम्म सरकारले सार्वजनिक गरिदिए धार्मिक विधि अनुसार अन्त्येष्टि गर्ने मनसायमा छन्, परिवारजन र छरछिमेकी।
हल्दीबारी गाउँपालिका-१ का वडाध्यक्ष देवीबहादुर थापा बुबाको इच्छा अनुसार गोपाल हो कि होइन भन्ने पुष्टि गर्न लागिरहेको बताउँछन्। “धार्मिक विधि अनुसार अन्त्येष्टि गर्ने तयारीमा हुनुहुन्छ,” थापा भन्छन्, “प्रहरीले पनि गोपाल नै हो कि होइन भनेर पुष्टिका लागि विवरण टिपेर लगेको छ।”
परराष्ट्र मन्त्रालयले सात जना मृतकको सूची जारी गरेको भोलिपल्ट रघुनाथ ज्योतिषीलाई देखाउन गएका थिए। ज्योतिषीले सान्त्वना दिए पनि गोपाल जिउँदै छन् भन्नेमा बुबा रघुनाथले पनि विश्वास गर्न छाडिसकेका छन्।
त्यसयता उनी कुनै ज्योतिषीकहाँ गएका छैनन्, घरमै बसिरहेका छन्। उनले गत माघमा जस्तो ज्योतिषीको भर परेर ‘छोरा जिउँदै छ’ भन्ने अड्डी पनि कसेका छैनन्। शोकमा डुबेका छन्।
सरकारले गंगाराम अधिकारीको थप व्यक्तिगत विवरण सार्वजनिक गरिदिएमा कुशको शव बनाएर काजकिरिया गर्ने तयारीमा छन्, परिवारजन र छरछिमेकी। गोपालका छिमेकी भन्छन्, “सरकारले शव ल्याइदेला भन्ने त आशा छैन, लडाइँमा परेको गंगाराम अधिकारी भनेको गोपाल हो कि होइन, यकीन गरिदिए हुन्थ्यो।”
यो पनि पढ्नुहोस् :