प्रहरीले हिरासतमा राखेर यातना दिएको सहकारीपीडितको गुनासो
सहकारी आन्दोलनको नेतृत्व गरिरहेका दुई जनालाई प्रहरीले हिरासतमा लिएर यातना दिएको पीडितले गुनासो गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेको थियो। काठमाडौंका विभिन्न भागबाट जुलूस सहित आएका सहकारीपीडित भृकुटीमण्डप पुगेका थिए।
शान्तिपूर्ण रूपमा विरोध कार्यक्रम सकिएपछि साँझतिर घर जाँदै गर्दा महासंघका अध्यक्ष कुशलव केसी र कोषाध्यक्ष देव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। दुवै जनालाई काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको थियो।
हिरासतमा राखेर यातना दिएको उनीहरूले बताएका छन्। आन्दोलन नगर्न तर्साउने, मानसिक यातना दिनुका साथै कुटपिट गरेको अध्यक्ष केसीले बताएका छन्।
सहकारी आन्दोलनकर्ताले दुवै जनालाई प्रहरीको हिरासतबाट मुक्त गरेर गएराति वीर अस्पताल भर्ना गरेका थिए। शनिबार डिस्चार्ज भएको र दुवैको अवस्था सामान्य रहेको उपाध्यक्ष एवं प्रवक्ता पुरुषोत्तम कार्कीले बताए।
हिरासतमा रहँदा सादा कागजमा औंठाछाप गर्न लगाएको प्रवक्ता कार्कीको भनाइ छ। अस्पतालमा डिस्चार्ज भए पनि अध्यक्ष केसीको खुट्टामा चोट लागेका कारण हिंडडुल गर्न समस्या देखिएको प्रवक्ता कार्कीले बताए।