डिजेल र पेट्रोलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो।
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा तोकिएको छ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ तोकिएको छ। त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ कायम गरिएको छ।
निगमले काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ तोकेको छ। त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट शुक्रबार प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २२ पैसा र डिजेलको प्रतिलिटर दुई रुपैयाँ ६ पैसाले घटेर आएको निगमले जनाएको छ। सोही अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको हो।