जोवन बित्यो भैंसीगोठैमा
बाल्यकालदेखि नै लेकबेसी गर्दै भैंसीगोठमा जीवन बिताएकी ६५ वर्षीया लीलामाया वन्यजन्तुसँगका किस्सा सुनाउँदा अहिले पनि रोमाञ्चित हुन्छिन्।
फागुन २९ को बिहान। डोको बोकेर अघि अघि हिंड्दै थिइन् लीलामाया गुरुङ। भैंसीका दुई पाडा पछ्याउँदै थिए। मोबाइलको घण्टी बजेर रोकिइन्। उनी सँगै रोकिए पाडा पनि। लीलामाया फोनमा गफिन थालिन्, पाडा वरपरको घाँसतिर।
गुरुङ समुदायको बस्ती कास्कीको सिक्लेसमा गुजुमुज्ज परेका छन् घरहरू। तिनै घरबीच सिक्लेसको हार्पुथर टोलमा छ, ६५ वर्षीया लीलामायाको घर। चेत आएदेखि नै उनले गाईगोरु, भैंसीसँगै बाल्यकाल बिताइन्। अहिले बुढ्यौलीमा पनि तिनैको साथ छ।
हरेक दिउँसो पाडालाई चराउन गाउँछेउकै वन लैजान्छिन्। त्यो बिहान पनि उनी वनतिरै जाँदै थिइन्। प्रायः गोठालो जाँदा बस्तुभाउको पछि पछि लाग्ने गरिन्छ। लीलामाया भने अघि अघि लाग्छिन्, पाडाहरू पछि पछि दगुरिरहेका हुन्छन्।
बुबाको खेतीपाती धेरै हुन्थ्यो। भेडीगोठ र भैंसीगोठ जाने चलन थियो। बुबासँगै उनी पनि भैंसीगोठ जान्थिन्। “बुबासँगै भैंसीगोठ जान रमाइलो लाग्थ्यो, मन फुरुङ्ङ हुन्थ्यो,” उनी बाल्यकाल सम्झिन्छिन्।
घरमा थिए पाँच दिदीबहिनी, बुबा र आमा। उनी काइँली छोरी हुन्। अहिले बुबाआमा त साथमा छैनन् नै, दिदीबहिनी पनि पोखरातिरै छन्। गाउँको पुर्ख्यौली घरमा उनी एक्लै बस्छिन्।
लीलामायाको दैनिकी भने एकनास छ। हरेक दिन बिहानै ४ बजे उठ्छिन्। काम सकेर बेलुका छिटै बिस्तारामा पुग्छिन्। “सानैदेखिको बानी हो, भैंसीगोठमा छँदा पनि बिहानै उठ्थें,” उनी भन्छिन्।
गोठालो जीवन
सानी छँदा बुबाको भैंसीगोठमा दिदीहरू गएको देखेकी थिइन्। महीनौं घरमा आउँदैनथे। बुबा र दिदीहरूलाई घरमा नदेख्दा खिन्न पनि हुन्थिन्। ठूली भएपछि दिदीहरूको सिको गर्दै बुबासँगै लेकमा भैंसीगोठमा जान थालिन्।
भैंसीगोठको चलन नै बेग्लै हुन्छ। गर्मीका ६ महीना लेक र जाडो छल्न हिउँदका ६ महीना बेसी झर्नुपर्छ। किशोरावस्था कटेपछि त एक्लै पनि लेकका भैंसीगोठतिर लाग्थिन्।
लेकमा जाँदा जंगलको बीचमा भैंसीको रेखदेख गर्ने जिम्मेवारी उनकै थाप्लोमा हुन्थ्यो। उनका १८ वटा भैंसी थिए। कहिले त्योभन्दा बढी पनि हुन्थे। “माथि भैंसीकोठमा चाहिने सामान तलबाट आउँथ्यो, हामी माथि गोठमा बस्नेले घ्यू, दूध तल पठाउँथ्यौं,” लीलामाया सुनाउँछिन्।
बुबा तिनै सामान बोकेर गोठ र घर ओहोरदोहोर गर्थे। घरमा कामको चाप उस्तै हुन्थ्यो। बुबा प्रायः तलै बस्थे। लेकमा कहिले एक्लै, कहिले छिमेकी गोठका साथीसँगै हुन्थिन् लीलामाया।
डाँडा क्यूमा गाउँका थुप्रै भैंसीगोठ हुन्थे। भैंसीगोठको जीवनशैली नै बिहान सबेरै उठेर भैंसी दुहुनु हुन्थ्यो। सात-आठ वटा दुहुनो भैंसी हुने गरेको उनी सम्झिन्छिन्। भैंसीको रेखदेख तथा बाघभालुको आक्रमणबाट जोगाउने र आफू पनि जोगिएर भैंसीगोठमा जीवन चल्थ्यो।
गोठालाका लागि दूध, मोही र घ्यू टुट्नैथ्यो। त्यस बाहेक गहुँको रोटी खाने चलन रहेको उनी सुनाउँछिन्। “लेकमा भात त कहाँ पाउनु नि!” लीलामाया भन्छिन्, “घर फर्केपछि मात्रै भात पाइन्थ्यो, नत्र रोटीमै चल्थ्यो।”
लीलामायाले कक्षा ५ सम्म पढिन्। अझै पढ्ने रहर थियो तर खेतीपातीको कामको भार परेपछि स्कूल छोडिन्। स्कूले उमेर भैंसीगोठमै बित्यो। त्यसपछि त झन् भैंसीगोठ उनकै जिम्मेवारी बन्यो। “जोबन त भैंसीगोठमै बित्यो,” उनी हाँस्दै भन्छिन्।
अहिले पनि उनको पढ्ने रहर मरेको छैन। गाउँमा केही कार्यक्रम हुने बित्तिकै केही अक्षर बुझ्न, सिक्न पाइन्छ कि भनेरै पुगिहाल्छिन्।
गोठाले जीवन सहज हुँदैन। बस्तुभाउसँगै वनपाखा चहार्दा जंगली जनावरको डर हुन्छ। गोठालो बस्दा उनले बाघभालुको पनि सामना गरेकी छिन्। लीलामाया भन्छिन्, “शुरूमा वनमा डर लाग्थ्यो। कति डराउने! पछि त बानी पर्यो।”
बिहान उठेर पहिलो काम हुन्थ्यो- गोठ छेउछाउ चहार्ने, बाघभालुका पदचाप हेरेर कतातिर गएका छन् भन्ने अड्कल लगाउने। यसमा उनी पोख्त थिइन्। “जनावर पनि हामी जस्तै हुन्छ। बिहान हिंड्छ, दिउँसो सुत्छ, बेलुका हिंड्छ,” उनी भन्छिन्, “जंगलका जनावरलाई देख्न सजिलो हुँदैन।”
गोठालो बस्दा वन्यजन्तुको पनि आनीबानी चिन्न थालिन्। भैंसीको आनीबानीसँग त उनी अभ्यस्त थिइन् नै। जंगली जनावर पनि मान्छेसँग डराउने गरेको चाल पाइन्। “वनका जनावर त हामीभन्दा बाठा हुन्छन्,” उनी हाँस्दै थप्छिन्, “उनीहरूदेखि हामी डराउने, हामीदेखि उनीहरू डराउने हो।”
डराउँदिनँ भन्दाभन्दै पनि कहिलेकाहीं डराउने अवस्था आउँथ्यो। त्यस्ता थुप्रै घटनामध्ये उनले एउटा स्मरण गरिन्।
एक दिन गोठालो लागेको वेला भैंसी कराएको सुनिन्। भैंसीलाई बोलाउँदै आवाज आएतिर लागिन्। एकाएक सबै भैंसी कराउँदै उनीतिर आए। बाघ आएको चाल पाइन्।
आफूतिर आएका भैंसी हेर्दाहेर्दै एउटा पाडो हराएको थाहा पाइन्। खोज्दै जंगलतिर अघि बढिन्। उनी आएको चाल पाएर बाघ पनि ठूलो आवाजले गर्जियो। “बाघ कराए पनि म डराइनँ,” लीलामाया त्यो क्षण वर्णन गर्छिन्, “पाडो बचाउन अघि सरें।”
बाघ त भाग्यो तर पाडो बचाउन सकिनन्। खाल्डामा रहेको पाडो मरिसकेको थियो। बाघभालुसँग जम्काभेट भएका यस्ता अनगिन्ती किस्सा छन् लीलामायासँग।
गाउँघरमा अझै पनि लीलामायाको यस्तै यस्तै किस्सा गाउँलेलाई कुराकानी गर्ने मेलो बनेका छन्। अहिले भने गाउँमा भेडीगोठ, भैंसीगोठ जाने चलन हराइसकेको छ। सिक्लेसमा तीन-चार घरको मात्रै अहिले भेडीगोठ, भैंसीगोठ छ। गाउँमा पाका पुस्ता भन्छन्, ‘गाह्रो काम अहिलेका पुस्ताले कहाँ गर्नु!’
हुन पनि सिक्लेसमा सहज छ। सडक पुगेको छ। हिमाल हेर्दै पुरानो गुरुङ बस्तीमा रमाउन देशविदेशका पर्यटक आइरहन्छन्। गाउँमै सेवासुविधा पुगेका छन्। स्थानीय बासिन्दाको दैनिकी फेरिएको छ। पर्यटकको स्वागत सत्कार गर्छन्, व्यापार व्यवसायमा व्यस्त छन्। पर्यटनले जनजीवन फेरिएसँगै भैंसीगोठ जाने चलन हराउँदै गएको छ।
लीलामायाले पनि लेकबेसी गर्न छाडेकी छन्। उहिल्यै जस्तो वर्षका ६ महीना लेकतिर जानु पर्दैन। “अहिले त गाउँमा पनि धेरै सजिलो भयो, बाटो बन्यो, जंगल पनि नजिक भए, खानेकुरा बजारबाटै आउन थाल्यो,” उनी भन्छिन्।
घर एक्लिँदै गएपछि र वृद्ध आमाबुबाको रेखदेखका लागि उनले लेकको भैंसीगोठ जान छाडिन्। पहिले पनि भैंसीगोठमा एक्लै बस्नुभन्दा घरपरिवारसँग बस्ने त हुन्थ्यो। तर गोठालो बस्ने बानी परिसकेपछि त्यतैलाई दैनिकी बनाइन्।
त्यति वेला भैंसीगोठकै जीवन सहज लाग्न गरेको उनी सुनाउँछिन्। “दुःख हुन्थ्यो, डर पनि लाग्थ्यो तर बाध्यता भएपछि गर्नै पर्यो,” पुराना याद ताजा बनाउँदै उनी भन्छिन्, “अहिले पनि कहिलेकाहीं भैंसीगोठ सम्झन्छु।”
सिक्लेसकी ‘काइँली फुपू’
लीलामाया एक वर्षकी छँदा दिदीको काँधबाट खस्दा दायाँ खुट्टामा चोट लागेको थियो। त्यति वेला त केही भएन तर त्यसले बिस्तारै असर पार्यो। त्यति वेला उनका बुबाआमाले याे कुराको भेउ नै पाएनन्।
दायाँ खुट्टाले सीधा टेक्न सकेन। हिंडडुल गर्दा खुट्टा खोच्याएर हिंड्नुपर्छ। तर त्यसले उनलाई गोठालो हुन रोकेन, दैनिक हिंडडुल गर्न छेकेन।
यद्यपि उनको दिमागमा गहिरो चोट पर्यो। उमेर बढ्दै जाँदा मनको घाउ पनि बढ्दै गयो। “म जस्ती अपांगलाई कसले लैजाला भन्ने सोचें त्यति वेला,” उनी सोचमग्न हुन्छिन्।
त्यसैकारण बिहे गर्ने मनस्थिति नै बनाइनन्। घरमा त्यति वेला केटाहरू माग्न नआएका भने होइनन्। उनको मनले बिहेतर्फ सोच्नै चाहेन। “बिहे गर्न मन लागेन,” लीलामाया सुनाउँछिन्।
त्यसैले उनी गाउँकै काइँली फुपू हुन्। बच्चादेखि वृद्धसम्मले उनलाई ‘काइँली फुपू’ भनेर बोलाउँछन्।
दिदीबहिनीले बिहे गरेर घरजम बसाले। उनी भने घरमा आमाबुबाको सेवा गरेर बसिन्। आमा ७० वर्षको उमेरमा र बुबा ९० वर्षको उमेरमा बितेपछि भने एक्लो महसूस गरेको उनी सुनाउँछिन्।
दिदीबहिनी निरन्तर भेट्न आउँछन्, उनी पनि सिकलेसबाट वेलाबखत पोखरा झर्छिन्। पहिले जस्तो भैंसीगोठ नभए पनि दुइटा भैंसी र दुइटा पाडा छन्। भैंसी र पाडाको रेखदेखमै दिन बित्छ। त्यसैमा रमाएकी पनि छन्।
बुढ्यौली लागे पनि काम गर्न छाडेकी छैनन्। उनलाई लाग्छ, बाँचुन्जेल काम गर्नुपर्छ। “त्यत्तिकै बस्न झ्याउ लाग्छ,” लीलामाया हाँस्दै भन्छिन्, “काम गर्ने मान्छेलाई खाली बस्नै मन लाग्दैन।”