वैकल्पिक शिक्षा दिने विद्यालय हेर्न जाँदा देखेकाे मदन राईको कर्तुत
‘बालिकाहरू यौन हिंसा र दुर्व्यवहारमा परेका छन् भनेर प्रहरीदेखि गृहमन्त्रीसम्मलाई थाहा छ। तर राज्यका कुनै पनि निकायले पीडितहरूको सुरक्षाका लागि काम गरेका छैनन्।’
तीन वर्षअघि म खोटाङको शुभद्रा मदन (शुभम) फाउन्डेशन पुगेकी थिएँ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२, सोल्मामा रहेको फाउन्डेशनले बालबालिकालाई वैकल्पिक तरीकाले पढाउँछ, काम सिकाउँदै जीवनोपयोगी शिक्षा दिन्छ भनेर समाचारहरूमा पढेकी थिएँ। त्यसैले बालबालिकाले कसरी पढ्दा रहेछन् भनेर त्यहाँ गएर हेर्ने इच्छा थियो।
त्यही वेला मैले आफू कार्यरत संस्थाबाट १५ दिन बिदा पाएँ। त्यसपछि फाउन्डेशनका सञ्चालक एवम् संरक्षक मदन राईको नम्बर खोजेर फोन गरें। तर मैले पत्रकारका रूपमा फोन गरेकी थिइनँ। आफू विद्यार्थी भएको र उनले गरेका काम हेर्न मन भएको बताएकी थिएँ।
यसपछि फाउन्डेशनले चलाएको जनजागृति उच्च मावि हेर्न खोटाङ गएँ। त्यहाँ पुग्दासम्म राई कृषिविज्ञ हुन् र शिक्षा क्षेत्रमा काम गरिरहेका छन् भन्ने मात्र थाहा थियो मलाई। उनी अश्लील तरीकाले कुरा गर्छन्, यूट्यूबमा उनले अश्लील बोलेका अन्तर्वार्ताहरू छन् भन्ने थाहा थिएन।
जब म उनलाई भेट्न गएँ, कुराकानीको क्रममा उनले निर्धक्क रूपमा अपशब्द बोलिरहे। त्यति वेला नै मलाई कस्तो खालको मान्छे होला भन्ने लागेको थियो। तर म विद्यालय हेर्न गएकीले त्यतै लागें।
मलाई विद्यालय परिसरकै ‘गेस्ट रूम’ मा बस्ने प्रबन्ध मिलाइएको थियो। साँझमा फ्रेस भएर आफ्नो कोठामा बसिरहेकी थिएँ। बाहिर मदन राई विद्यालयका शिक्षकहरूसँग बैठक गरिरहेका थिए। म बाहिर निस्कँदा त मदन राई सबैको अगाडि अश्लील शब्दहरू बोल्ने, हातले अश्लील संकेत गर्ने गरिरहेका थिए। त्यस्तो देखेर स्तब्ध भएँ।
सामान्यतया हामीले सुन्नै नसक्ने शब्दहरू विद्यालयका शिक्षक जस्ता मानिसहरूले सुनिरहेका थिए। त्यो अश्लील शब्द मात्र थिएन, मदन राईका क्रियाकलाप र बोल्ने तरीका ‘पोर्न’ जस्तो थियो। विद्यालय जस्तो पवित्र ठाउँमा त्यस्तो भड्किलो शब्द बोलिरहँदा मानिसहरू सुनेर बसिरहेका थिए। कुनै प्रतिक्रिया र आपत्ति थिएन। मेरो मनमा प्रश्नहरू खेले- हरेक व्यक्तिसँग अश्लील बोल्छन्? मीटिङमा यस्तोसम्म हुन्छ? कसैले प्रश्न गर्दैन?
म विद्यार्थी बनेर गएकाले चूपचाप बसें। तर म बसेको ‘गेस्ट रूम’ मदन राईकै कोठाको पल्लोपट्टि भएकाले त्यो रात निकै डर लाग्यो। त्यस्तो मान्छेले त जे पनि गर्न सक्ने भयो। त्यसमाथि उनको अभद्र क्रियाकलाप विरुद्ध कोही पनि बोल्दैनन् भनेपछि मलाई झन् असुरक्षित महसूस भयो।
भोलिपल्ट बिहान बालबालिकाहरू के के गर्दा रहेछन् भनेर हेरें। मलाई मदन राईले नै घुमाए। त्यस वेला पनि उनले छाडा शब्द बोलिरहे। यसो बुझ्दा उनी बालबालिकाहरूकै माझमा पनि अश्लील शब्द बोल्ने रहेछन्।
मलाई भने यो मान्छेलाई यति उन्मत्त भएर छाडा बोल्न किन छूट दिइएको भन्ने जिज्ञासाले चिमोटिरह्यो। त्यसैले त्यहाँ केही दिन बसेपछि मलाई यो घटना यत्तिकै छोड्नु हुँदैन भन्ने लाग्यो। यसपछि मैले मदन राईका गतिविधिलाई एकदमै ध्यान दिएर हेरें। उनले दुर्व्यवहार गरेको आफ्नै आँखाले त देखिनँ तर उनले जे गरिरहेका छन् त्यो ठीक छैन, बालबालिका र शिक्षकहरूकै अगाडि अश्लील बोल्ने उनको हर्कत विरुद्ध कोही पनि बोल्न नसकेकाले त्यहाँको वातावरण नै ठीक छैन कि भन्ने शंका पस्यो।
त्यहाँ राम्रा मानिसहरू पनि रहेछन्। एक जनालाई मैले ‘मदन राई तपाईंहरूसँग पनि अश्लील बोल्दा रहेछन्, बालबालिकाहरूसँग अश्लील बोल्ने मात्र गर्छन् कि त्यसभन्दा बढी पनि केही गर्छन्’ भनेर सोधें। ’विद्यालयमा यस्तो बोल्न मिल्दैन, तपाईंहरू किन सुनेर बसिरहेको’ पनि भनें।
त्यति वेला उनीहरूले राईले दुर्व्यवहार नै चाहिं गर्दैनन् तर फोहोरी शब्द बोलेर चाहिं हैरान पारिसके भने। मैले उनले बोलेकै कुरा पनि यौन दुर्व्यवहार भएको बताएँ।
मैले मदन राईलाई पनि तपाईंले बोल्ने शब्द र गर्ने क्रियाकलाप ठीक भएन भनें। बालबालिकाको अगाडि अश्लील बोल्नु यौन हिंसा हुने पनि बताएँ। उनले मलाई मात्र अश्लील लागेको बताए। अनि मैले ‘जेसुकै भन्नू तर कानून ख्याल गर्नू’ भनेकी थिएँ।
मैले त्यहाँ पढ्ने एक-दुई जना बालबालिकालाई यौन हिंसा भनेको यो हो, दाइ, दिदी वा शिक्षक कसैले पनि यौन हिंसा गर्न पाउँदैन, कसैले गर्यो भने भन्नुपर्छ भनेर सिकाएँ।
खोटाङबाट फर्किएपछि पनि वेलावेला त्यहाँको घटना सम्झिराख्थें। त्यहाँ यस्तो भइरहेको छ भनेर सानो समाचार लेख्दैमा वा ब्लग लेख्दैमा त्यति प्रभाव पर्दैनथ्यो। त्यसैले मैले लेखिनँ। शुभममा रहेका धेरैजसो मानिस मदन राईकै आफन्त भएकाले प्रमाण जुटाउन कसले सहयोग गर्छ त भन्ने लाग्याे।
त्यहाँका धेरै मान्छे मैले चिनेकी थिइनँ, चिनेकाहरू खुल्न चाहेनन्। त्यसैले अढाई वर्ष यत्तिकै बित्यो।
शुभम फाउन्डेशनबारे सकारात्मक समाचारहरू मात्र आइरहेका हुन्थे। ठूला मिडियाले त्यहाँ राम्रो पढाइ हुन्छ, वैकल्पिक शिक्षा दिइन्छ भनेर लेख्थे। मदन राईको राजनीतिक व्यक्तित्व पनि भएकाले उनका पत्रकार साथीहरू थिए। त्यसैले फाउन्डेशनबारे राम्रा समाचार मात्र आउँथे। यूट्यूबरहरू त उनकै अन्तर्वार्ता गर्थे। म पनि पत्रकार हो भनेर पछि त्यहाँका विद्यार्थीहरूलाई थाहा भएपछि यो पनि मदन राईकै कुरा सुन्ने गरी आएको हो भन्ने परेछ। त्यसैले स्रोतसँग चाँडै विश्वासको वातावरण बन्न नसक्दा यो घटना बाहिर आउन समय लाग्यो।
यसरी खुले पीडित
खोटाङमा मैले केही व्यक्तिसँग कुरा गरेकी थिएँ। उनीहरू मदन राईलाई तपाईंले यस्तो गर्न मिल्दैन भनेर सम्झाउँदा पनि रहेछन्। तर उनी उल्टै उनीहरूलाई नै अपशब्द बोल्थे। उनीहरूले पनि कति सहनु! ती व्यक्तिहरूले मेरो रिपोर्टिङ पढ्दा रहेछन्- विशेष गरी यौन हिंसाबारेका। उनीहरूले मलाई सम्पर्क गरेर ‘फाउन्डेशनमा यौन दुर्व्यवहार हुन्छ। तपाईं लेख्न सक्नुहुन्छ कि सक्नुहुन्न’ भने।
तर आजको भोलि नै खोतलेर लेख्न सकिने कुरा त थिएन। त्यहाँ पढेका बालबालिकासँग कुरा गर्नुपर्थ्यो। शुभद्रा मदन फाउन्डेशनमा पढेका तर त्यस वेला काठमाडौंमा भएका पीडित बालिकासँग भेटें। यसपछि त उनीहरूले नै आफ्ना पीडित साथीहरूबारे बताए। तर उनीहरूसँग कुरा गर्न गाह्रो भयो। पत्रकार भएपछि सीधै १८ वर्ष मुनिका सँग कुरा गर्न मिलेन। सहमति लिनुपर्यो। अभिभावक चाहियो। तर समस्या चाहिं पीडित भनिएका बालिकाका बाआमासँग यसबारे कसरी कुरा गर्ने भन्ने भयो। धन्न त्यहाँका केही शिक्षकलाई अगाडि राखेर कुरा गर्न पाइयो।
बालिकाहरूसँग कुरा गर्दा अर्को घटना पनि थाहा भयो- एक जना त पीडित बालिकाकी दिदी नै मदन राईबाट यौन हिंसामा परेकी रहिछन्। पाँच वर्षअघि आफ्नी बहिनी भेट्न जाँदा ती बालिकालाई मदन राईले यौन हिंसा गरेका रहेछन्।
पीडित बालिकाहरूसँग कुरा गर्ने क्रममा उनीहरूले ‘बाजे (मदन राई)ले यस्तो गर्छन्, उस्तो गर्छन्’ भनेर उनका कर्तुत खुलेर सुनाउँथे। तर जब उनीहरूलाई त्यति वेला तिमीलाई कस्तो लागेको थियो, कसैलाई यो घटना सुनाउन पायौ कि पाएनौ भनेर सोध्थें, उनीहरूलाई कति गाह्रो भएको रहेछ भन्ने थाहा हुन्थ्यो।
अर्कातर्फ, राईले बालबालिकाहरूसँग अश्लील शब्द बोल्ने, आफ्नो लुगा खोलेर यौनांग देखाउने, उनीहरूलाई हिंसा गर्ने र त्यसको भिडिओ पनि खिच्न लगाउने गर्थे। ती भिडिओ उनी आफ्नो मोबाइल, ल्यापटपमा राख्थे। ती भिडिओ मैले कहाँबाट पाएँ भन्ने त स्रोत खुलाउन सक्दिनँ तर उनले आफ्नो मनोरञ्जनका लागि राखेको भिडिओ नै मैले पाएको थिएँ। यसले बलियो प्रमाणको काम गर्यो।
सहजै स्विकारेको अपराध
मदन राईले खुलमखुला अश्लील हर्कत गर्दै आएकाले उनले आफ्नो अपराध सहजै स्विकार्छन् भन्ने मलाई थाहा थियो। उनी कानून नै फेर्नुपर्छ भन्थे। उनी नाबालिग रहने उमेर घटाउनुपर्ने बताउँथे। बालबालिकालाई यौनजन्य क्रियाकलाप सिकाउँदै जानुपर्छ भन्ने उनको मान्यता थियो। तर व्यक्तिले कानून फेर्नुपर्ने मत राख्न त पाउँछ, कानूनले बन्देज गरेका क्रियाकलाप गर्न पाउँदैन।
उनीसँग कुरा गर्दा आफू विरुद्धको आरोप स्विकारे। त्यो मलाई सामान्य नै लाग्यो। तर कसैलाई ‘तपाईंले यौन हिंसा गर्नुभएको हो’ भनेर सोध्न गाह्रै हुँदो रहेछ। यस्तो सोध्ने वेला मलाई अलि असहज लागेको थियो।
तर उनले सहजै ‘अँ लेख्देऊ। मलाई यस्तै लेख्ने मान्छे चाहिएको थियो’ भने। उनलाई आफूले गरेको काम कानून विपरीत हो भन्ने थाहा थियो। उनी शुभमकै विद्यार्थीले कुनै दिन आफूलाई जेल हाल्छन् भन्थे।
पीडित बालिकाहरू र पीडकसँगको कुराकानी तथा भिडिओबाट यौन दुर्व्यवहार भएको पुष्टि भएपछि समाचार तयार भयो। २०८० वैशाख २८ गते सेतोपाटीमा ‘आफ्नै फाउन्डेशनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार’ शीर्षकमा समाचार छापियो।
स्रोतहरूलाई पीडक पक्षको धाकधम्की
शुरूमा मैले यो रिपोर्ट पीडितहरूले बताएकै शब्दमा लेखेकी थिइनँ। रिपोर्टभित्रै ‘कोट’ का रूपमा समेटेकी थिएँ। तर पीडितहरूको बयान जस्ताको तस्तै राख्दा नै उपयुक्त हुन्छ भन्ने सुझाव अनुसार पछि छोटो इन्ट्रो लेखेर पीडितहरूको पीडा उनीहरूकै शब्दमा लेखियो। यसरी लेख्ने निर्णय गर्नुको कारण के थियो भने, पीडित बालिकाहरूले भनेका कुरा यति सशक्त छ कि एक हिसाबले पीडितको बयान जस्तो भयो। उनीहरूको पीडा मैले लेखेको भए उनीहरूले बताए जति सशक्त हुँदैनथ्यो।
समाचार छापिएको भोलिपल्टै मदन राई पक्राउ परे। उनी अश्लील बोल्छन् भन्ने कुरा धेरैका लागि नौलो थिएन। धेरैले उनका कुरालाई गम्भीरतापूर्वक लिंदैनथे र बेवास्ता गरिरहेका थिए। तर यो रिपोर्ट प्रकाशन भएपछि उनले गरेको काम त गलत रहेछ भनेर सोच्न बाध्य भए।
अर्को कुरा, मैले लेखेको रिपोर्टबाट प्रहरीलाई उनको अपराध ठहर गर्ने आधार भयो र पक्राउ गर्न सजिलो भयो। किनकि एक त प्रमाण सहित थियो, अर्को उनका हर्कत खुलमखुला नै थिए।
मलाई रिपोर्टिङका क्रममा र रिपोर्ट प्रकाशनपछि कुनै प्रकारको धम्की आएन। तर मेरा स्रोतहरूले निकै धाकधम्की भोग्नुपर्यो। पीडक पक्षले राईका कर्तुतबारे मलाई कसकसले सूचना दिन सक्छन् भन्ने अनुमान लगाएर मेरा स्रोतहरूलाई गाह्रो पारे। काठमाडौंमै भएका बालिकाहरूलाई पनि अनुमानका भरमा पीडक पक्षले मनोवैज्ञानिक यातना दिए। उनीहरूले मेरा स्रोतलाई किन भनिस्, किन लेखाइस् भन्थे। उनीहरूको घरमै मानिसहरूलाई पिछा लगाउनेसम्मका काम भए। यो पाटोले चाहिं मलाई पीडा दियो।
पीडित बालिकाहरूमध्ये काठमाडौंमा रहेकी एक जनालाई राष्ट्रिय बाल अधिकार परिषद्ले उद्धार गर्यो। अहिलेसम्म पनि आफ्नै संरक्षणमा राखेको छ। शुभममा रहेका अन्य बालबालिका भने मदन राई पक्राउ नपरुन्जेल उनीबाट असुरक्षित थिए, उनी पक्राउ परेपछि शुभमको व्यवस्थापन पक्षबाट असुरक्षित बने। बयान लिन आउने प्रहरीलाई बालबालिकाले सबै कुरा खोलिदेलान् भनेर व्यवस्थापन त्रस्त थियो। त्यसैले सूचना दिने बालबालिकालाई जेल हाल्ने धम्की समेत दिइएको थियो।
यसबाट हाम्रो राज्य संयन्त्रले गम्भीरतापूर्वक काम गर्दैन भन्ने देखिन्छ। किनभने प्रहरीले सोध्दा त्यहाँका बालिकाहरूले आफूमाथि भएको हिंसा सुनाएका छन्। हाम्रो गृह प्रशासन संवेदनशील हुन्थ्यो भने त्यही वेला उनीहरूलाई उद्धार गरेर ‘शेल्टर’ मा राख्नुपर्थ्यो। बालबालिकाले पनि जाहेरी लेखेर दिनुपर्ने हो त? प्रहरीले परामर्श गर्दा पीडित बालिकाहरूले भनेका कुरालाई टिप्पणी उठाएर आफैं उजुरी दर्ता गर्नुपर्ने होइन?
अर्कातिर, राष्ट्रिय बाल अधिकार परिषद् पनि संवेदनशील थियो भने यस्तो घटना थाहा भएपछि र प्रहरीले राईलाई पक्राउ गरिसकेपछि तत्कालै खोटाङ गएर पीडित बालिकाहरूको उद्धार गर्थ्यो। तर त्यस्तो देखिएन। परिषद्का प्रतिनिधिहरू त्यहाँ जान त गए तर त्यस सम्बन्धमा प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा बुझाउने र त्यसपछि मात्र उद्धार गर्ने भनेर फर्किए।
परिषद्ले प्रतिवेदन बनाउनै एक-डेढ महीना लगायो। बालिकाहरू यौन दुर्व्यवहारमा पर्यौं भनिरहेका छन्, उनीहरू हिंसा भएकै ठाउँमा छन् र त्यही ठाउँ गएर फर्केको एक-डेढ महीनापछि प्रतिवेदन बनाउनुले हदै असंवेदनशीलता देखाउँछ।
फाउन्डेशनले अनुमति नदिएकाले आफूहरूले पीडित बालिकाहरूलाई उद्धार गरेर ल्याउन नसकेको परिषद्ले प्रतिवेदनमा बतायो। परिषद्लाई त्यस्तो हिंसा हुने ठाउँबाट पीडित बालबालिका लिएर फर्किने अधिकार छैन भने हाम्रा नीति-कानूनहरू बदल्नुपर्छ।
परिषद्ले बालिकाहरू उद्धार गर्न नसकेको बताएपछि मैले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेको थिएँ। ‘मदन राईबाट पीडित बालिकाको सुरक्षाका लागि तपाईंको प्रशासनले के गर्दै छ?’ भनेर सोधें।
गृहमन्त्रीले त ‘यो विषयमा बाहिर मानिसहरूले कसरी प्रतिक्रिया दिइरहेका छन्’ भनेर प्रतिप्रश्न पो गरे। ‘मानिसहरू मदन राईको विरोध गरिरहेका छन् कि समर्थनमा छन्’ भनेर सोधे।
शुभममा रहेका बालिकाहरू यौन हिंसा र दुर्व्यवहारमा परेका छन् भनेर प्रहरीदेखि गृहमन्त्रीसम्मलाई थाहा छ। तर राज्यका कुनै पनि निकायले पीडितहरूको सुरक्षाका लागि काम गरेका छैनन्। केही बालिका त्यहाँबाट निस्किए पनि परिवारले फर्काएर लैजाने आर्थिक अवस्था नभएका केही बालिका अहिले पनि त्यहीं छन्।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराधमा घटना भएको हो भन्ने तत्काल प्राप्त प्रमाणहरूले देखाएमा अभियुक्तलाई थुनामा पठाउनू भन्छ। राईलाई थुन्न सक्ने खालको कानून नै नभएकाले उनी धरौटीमा छुट्छन् भन्ने मलाई थाहा थियो। तैपनि धरौटीमा छोड्दा शर्तहरू राखिन्छ कि राखिंदैन, न्यायाधीशहरूको विवेकमा भर पर्ने कुरा थियो। जिल्ला अदालत खोटाङले जेठ २२ मा उनलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए अनुसार उनी छुटे। साथै, उनलाई विद्यालय परिसरमा जान नदिनू भन्ने आदेश पनि आयो। उनलाई धरौटीमा छाडे पनि बालबालिकालाई कसरी सुरक्षित राख्ने भनेर कम्तीमा अदालतले चाहिं सोचेछ भन्ने लाग्यो।
एक पीडित बालिकाले दिएको उजुरीमाथि अनुसन्धान भएर अघि बढेको यो मुद्दा अहिले जिल्ला अदालत, खोटाङमा विचाराधीन छ। तर आफूहरू यौन हिंसामा परेको भनेर सूचना दिएका चार-पाँच जना बालिकाको उजुरी दर्ता नै भएको छैन। अर्कातर्फ, अदालतको आदेशले मदन राईलाई विद्यालयमा जान रोक लगाए पनि त्यहाँको स्थानीय तहले शुभम फाउन्डेशनलाई बालबालिका राखेर पढाउन अनुमति दिएको छ।
यौन हिंसा के हो र यो कति संवेदनशील छ भनेर पछिल्लो समय चेतना बढेको पाइन्छ। विद्यालय स्तरमा हुने हिंसा र यौन दुर्व्यवहारबारे पनि चर्चा हुने गरेको छ। तर हाम्रा विद्यालयहरू सुरक्षित छैनन्। कुनै विद्यालयमा गएर विद्यार्थीसँग राम्ररी कुरा गरेमा धेरैले आफूमाथि भएका यौन हिंसाका घटना बताउँछन्। त्यसैले यौन हिंसामुक्त विद्यालय बनाउन र बालबालिकालाई यस्ता हिंसाबाट बचाउन गम्भीर ढंगले काम हुनुपर्ने देखिन्छ।
(पत्रकार शर्मासँग असीम तिमल्सिनाले गरेको कुराकानीमा आधारित। सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री :