गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा नाराबाजी
गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसका सांसदले संसद् अवरुद्ध पारेका छन्।
शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठक शुरू हुने बित्तिकै कांग्रेस सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाए। उनीहरूका विरोधबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।
लगत्तै कांग्रेस सांसदले रोस्टम घेराउ गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरे। कांग्रेस सांसदले नाराबाजी नरोकेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगन गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक चैत ४ गते बिहान ११ बजे बस्नेछ।
शुक्रबार बिहान प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै कांग्रेस सांसदले विरोध जनाएका थिए। उनीहरूले अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री नियुक्त गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरेका थिए। त्यसमा सभामुख घिमिरेले ध्यानाकर्षण भएको जनाएपछि संसद्को कामकारबाही चलेको थियो।
शून्य समय र विशेष समयमा सांसदहरूले बोलेका थिए। त्यस्तै, कार्यव्यवस्था परामर्श समितिमा हेरफेर र राष्ट्रिय सभाबाट सन्देश सहित आएको विधेयक टेबल गरिएको थियो।
त्यसपछि गृहमन्त्री लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा प्रवेश गर्दा कांग्रेस सांसदले विरोध जनाएका थिए।
उनीहरूले पहिलो प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए। प्रधानमन्त्रीले जवाफ नदिंदासम्म विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफललाई बाहेक अन्य कामकारबाही गर्न नदिने बताएका थिए।
कांग्रेसको विरोधपछि सभामुखले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगन गरेका थिए। दुई घण्टापछि शुरू भएको दोस्रो बैठकमा पनि कांग्रेसले नाराबाजी गरेको हो।
गृहमन्त्रीको नियुक्तिले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन प्रभावित हुने कांग्रेसको भनाइ छ। यसमा प्रधानमन्त्री दाहालले जवाफ नदिएसम्म संसद् अवरुद्ध गर्ने कांग्रेसले जनाएको छ।