आरएसएसको शैलीमा महिलालाई प्रशिक्षण दिंदै राष्ट्रसेविका नेपाल
भारतीय आरएसएसको नेपाल शाखा हिन्दू स्वयंसेवक संघको महिला संगठनले धर्म र मातृत्वको नाममा हिन्दूत्ववादी विचार प्रवाह गरिरहेछ, ठ्याक्कै भारतीय राष्ट्रिय सेविका समितिको शैलीमा।
धर्मको राजनीति गर्दै आएका भारतका हिन्दूत्ववादी संगठनहरूको पथ पछ्याउँदै नेपालमा क्रियाशील हिन्दूत्ववादी संगठनले महिलामाझ पनि गतिविधि बढाउन थालेका छन्। त्यसैको एउटा अभ्यास हो, राष्ट्रसेविका नेपालले चैत २९ गतेदेखि आयोजना गर्न लागेको सातदिने आवासीय महिला प्रशिक्षण।
सेविका नेपालकी केन्द्रीय व्यवस्था प्रमुख रश्मि पौडेलका अनुसार तेजस्वी मातृशक्तिद्वारा धर्म संरक्षण गर्ने उद्देश्यले यो प्रशिक्षण चलाउन लागिएको हो। “हाम्रो धर्ममाथि हरेक तवरले प्रहार भइरहेको छ,” पौडेल भन्छिन्, “धर्मलाई कसरी संरक्षण गर्ने भन्ने पनि सिकाइन्छ।”
राष्ट्रसेविका नेपाल ‘हिन्दू स्वयंसेवक संघ, नेपाल’ को महिला संगठन हो। लेखक अमीशराज मुल्मीका अनुसार हिन्दू स्वयंसेवक संघ आफैं चाहिं भारतीय राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को नेपाल शाखा हो। सन् २०१३ मा प्रकाशित शोधमूलक लेखमा मुल्मीले संघको नेतृत्वसँगको कुराकानी र अन्य सन्दर्भका आधारमा आरएसएस र यस संस्थाको सम्बन्ध खुलासा गरेका छन्। मुल्मीका अनुसार केही नेपाली विद्यार्थीको सक्रियतामा सन् १९९२ मा यस संस्थाको स्थापना भएको हो जसले आरएसएसकै हिन्दूत्ववादी सिद्धान्त बोक्छ भने उसकै जस्तो कार्यशैली अवलम्बन गर्छ।
कोनार्ड इल्स्टले डिकोलोनाइजिङ द हिन्दू माइन्ड पुस्तकमा भारतमा हिन्दूत्वको विकासको वर्णन गरेका छन्। उनका अनुसार सन् १९२५ स्थापित राष्ट्रिय स्वयंसेवक संघ हिन्दूत्व सिद्धान्तकै जगमा स्थापना भएको थियो। हिन्दूत्व धार्मिक नभई राजनीतिक अवधारणा हो जसले केवल धर्मनिरपेक्षताको विरोध गर्दैन, सबै गैरहिन्दूलाई दुश्मन ठान्छ।
आरएसएस संघ परिवारको नेतृत्वकर्ता हो जस अन्तर्गत भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा), विश्व हिन्दू परिषद्, अखिल भारतीय विद्यार्थी परिषद्, सेवा भारती, सेवा अन्तर्राष्ट्रिय, हिन्दू युवा वाहिनी, हिन्दू स्वयंसेवक संघ लगायत धार्मिक र राजनीतिक आवरणका संगठनहरू क्रियाशील छन्।
सेविका नेपालकी व्यवस्था प्रमुख पौडेलका अनुसार ‘महिलालाई शारीरिक, मानसिक र बौद्धिक रूपले सबल र सक्षम बनाई मातृत्वको विकास गर्न’ यो प्रशिक्षण आयोजना गर्न लागिएको हो। ठ्याक्कै त्यस्तै धारणा अहिले आरएसएसको महिला संगठन राष्ट्रिय सेविका समितिले भारतमा प्रचार गरिरहेको छ। सेविका समितिले निश्चित दिनको आवासीय तालीम आयोजना गरेर चक्कु, तरबार र मातृत्वको प्रशिक्षण दिने गरेको छ।
हिन्दू स्वयंसेवक संघ, नेपालले युद्धका सीप सिकाउने प्रशिक्षण दिएको यो पहिलो पटक भने होइन। विश्व हिन्दू परिषद्का महासचिव जितेन्द्र सिंहका अनुसार संघले यसरी युवालाई प्रशिक्षण गर्न थालेको २० वर्ष भइसकेको छ। हिन्दू परिषद् आफैं संघ परिवारको सदस्य हो। सिंह पनि आफूलाई संघका स्वयंसेवक बताउँछन्। गत असारमा पनि सप्तरी जिल्लामा १२० युवालाई यस्तै प्रशिक्षण दिइएको थियो।
सेविका नेपालले भने २०६९ सालदेखि महिलालाई प्रशिक्षण दिन थालेको पौडेल बताउँछिन्। उनका अनुसार यस संस्थाले मूलतः १४ वर्षमाथिका महिलालाई प्रशिक्षण दिने गर्छ। वीरगन्जबाट शुरू गरिएको यस्तो प्रशिक्षण महेन्द्रनगर, धनगढी, चितवन लगायत शहरमा आयोजना गरिसकिएको र २७ वटा जिल्लामा संगठन विस्तार भएको उनी जानकारी दिन्छिन्।
हिन्दूत्ववादी संगठनहरूको यस्तो अभ्यासलाई राजनीतिक र सुरक्षा विश्लेषकहरू भने देशको शान्ति सुरक्षामाथि खतराका रूपमा लिन्छन्। यसै पनि यही वर्ष भारतमा हुने आमनिर्वाचनले हिन्दूत्ववादी कट्टरपन्थ नेपाल लगायत देशमा फैलिन सक्ने जोखिमबारे विश्लेषकहरूले सचेत गराइआएका छन्। भारतमा चुनावी सरगर्मी बढेसँगै नेपालमा पनि हिन्दूत्व अभ्यास बढेको विश्लेषकहरूको ठम्याइ छ।
संस्कार वा धर्म रक्षाका नाममा गरिने यस्ता अभ्यासले परम्परावादी सोच बढाउने तर्क गर्छन्, राजनीतिक विश्लेषक हरि शर्मा। उनका अनुसार घर, परिवार र विद्यालयले सिकाउने भएकाले धार्मिक संगठनहरूले संस्कारको प्रशिक्षण दिन जरूरी छैन।
सुरक्षाविद् ईन्द्र अधिकारीको विचारमा संस्कार र मातृत्वको नाममा प्रशिक्षण चलाउनु महिलाकै निम्ति हानिकारक छ। “संस्कार र नैतिकताका नाममा महिलालाई पुरुषहरूकै दमन नियन्त्रण र नियमनमा बस्न लगाउने हिसाबले सामाजिकीकरण गर्न खोजिएको हो,” अधिकारी भन्छिन्, “यस किसिमको गतिविधि महिला सशक्तीकरणको बाधक हो।”
धर्म रक्षाका नाममा हुने प्रशिक्षणले समाजमा सद्भाव बिथोल्ने ठम्याइ छ, सुरक्षाविज्ञ दीपकप्रकाश भट्टको। “वैचारिक रूपले धर्म रक्षाका नाममा प्रशिक्षित गरेर द्वन्द्व बढाउने काम गर्छ, त्यसतर्फ राज्य सचेत हुन जरूरी छ,” भट्ट भन्छन्।
त्यस्तै, पूर्व डीआईजी हेमन्त मल्ल पनि यस्ता अभ्यासलाई शान्ति सुरक्षासँग जोडेर हेर्नुपर्ने बताउँछन्। धर्मका नाममा विभिन्न संगठनले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरिरहेका हुनाले यस्ता क्रियाकलापमाथि निगरानी गर्नुपर्ने मल्लको भनाइ छ।