गौतम बुुद्धको ज्ञान र ध्यान
बुद्धत्व लाभका लागि अनेकौं कठोर साधना गर्दा पनि उपलब्धि नभइरहेको अवस्थामा गौतम बुद्धले विपश्यना ध्यानको विकास गरे, र यसै मार्फत ज्ञान प्राप्तिसम्म पुगे।
गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न तपस्या गरेको भन्दै बडो महत्त्वका साथ उल्लेख गरिन्छ। तर उनले तपस्याबाट नभई विशिष्ट ध्यान विधिबाट बुद्धत्व लाभ गरेका थिए। परापूर्वकालमा ऋषिमुनिहरूले आफैंलाई दुःख दिएर, देहलाई कठोर रूपमा तपाएर तपस्या गर्ने गरेको मानिन्छ। बुद्धले त्यस्तो परम्परागत मान्यता छाडेर विचार र क्रियाबाट मुक्त भई चित्तको विचार गर्ने एकाग्रताको ध्यान विधि अपनाए। फलस्वरूप इसापूर्व ५२८ को वैशाख पूर्णिमाको रात बुद्धत्व प्राप्त गरे। त्यसपछि बुद्धले ध्यान साधनामा जोड दिए अनुसार बौद्धहरूले यसको साधना गर्दै आएका छन्।
बुद्धको शिक्षामा मुख्य भागका रूपमा रहेको छ- ध्यान। बौद्ध जस्तै अन्य धर्मदर्शन वा सम्प्रदायविशेषमा पनि आआफ्नै ध्यान विधिहरू प्रचलनमा छन्। फरक फरक ध्यानको विधि र उद्देश्य फरक फरक हुन्छ। बौद्ध जगत्मा प्रचलित ध्यानलाई ‘विपश्यना’ भनिन्छ। यसको अर्थ हो- जुन कुरा जस्तो छ त्यसलाई त्यही रूपमा हेर्नु वा बुझ्नु। ‘समथ’ ध्यानपछि विपश्यनाको अभ्यास गरिन्छ।
बौद्ध धर्मका सबै सम्प्रदायमा विपश्यनाकै अभ्यास हुन्छ। तिब्बती समाजमा समथलाई ‘सीने’ र विपश्यनालाई ‘लाक्थोेङ’ भनिन्छ। अन्यत्र पनि आआफ्नै भाषाका शब्द प्रयोग हुन्छ। बौद्ध साधकले विपश्यना छुटाउँदैनन्।
बौद्ध ध्यान विधिका सम्बन्धमा गौतम बुद्धको बाल्यकालीन घटना उल्लेख गर्नु यहाँनेर सान्दर्भिक हुन्छ। जामुनको रूखमुनि सुताइएको वेला बालक सिद्धार्थ बिउँझिए। वरिपरि कसैलाई नदेखेपछि चूप लागेर बसे। त्यसै क्रममा उनलाई आफ्नो श्वासप्रश्वासप्रति कौतूहल जाग्छ र त्यसैमा केन्द्रित हुन्छन्। श्वासप्रश्वासमा केन्द्रित हुँदाहुँदै उनी ध्यानको एउटा तहमा पुग्छन्। बौद्ध साहित्यमा त्यसलाई ‘प्रथम ध्यानलाभ’ भनिएको छ।
पछि बुद्धत्वलाभका लागि अनेकौं कठोर साधना गर्दा पनि उपलब्धि नभइरहेको अवस्थामा गौतम बुद्धलाई बाल्यकालमा श्वासप्रश्वासमा केन्द्रित हुँदा भएको लाभको सम्झना हुन्छ। विचार र प्रतिक्रियाहीन रहेर सास आए/गएको हेर्नुलाई बौद्ध ध्यान विधिमा ‘आनापान सती’ भनिन्छ। यही विधिको प्रयोग गर्दै उनले विपश्यना ध्यानको विकास गरे, र यस मार्फत नै बुद्धत्व प्राप्तिसम्म पुगे।
विपश्यनाका साधक भएर जीवनदर्शनमा भने नित्यताको भाव बोकेर हिंड्नुु हदैसम्मको विरोधाभास हो। विपश्यनाको उद्देश्य नै अनित्यको बोध गर्नु हो।
ध्यान गर्नु भन्नाले प्रायशः आफ्नो अस्थिर मनलाई भड्किन नदिई एउटा कुरामा केन्द्रित गर्ने भन्ने बुझाइ पाइन्छ। सामान्यतया आफ्नो आराध्य देवताको आकृतिको कल्पना गरी त्यसमा भक्तिभावपूर्वक अडिने अभ्यास गरेको पाइन्छ। विपश्यनाबारे नबुझेकाहरूले यो ध्यानमा पनि बुद्धको आकृति कल्पिएर बस्ने होला भन्ने सोचेको पाइन्छ। बौद्ध ध्यानबारे जानकारी नभएका कतिपयले त्यस्तै गरेर बस्ने गरेको पाइए पनि त्यो अभ्याससँग बौद्ध ध्यान विधिको कुनै सम्बन्ध छैन।
विपश्यना ध्यानको मुख्य उद्देश्य अनित्य स्वभाव (परिवर्तन हुने, क्षय भएर नाशिने भाव)लाई प्रत्यक्ष महसूस गर्नु हो। संसारका हरेक वस्तु अनित्य हुन्छन् अर्थात् प्रतिक्षण परिवर्तनशील छन् भन्ने सत्य बौद्ध दर्शनको सार हो। विपश्यनामा आलम्बनका रूपमा आफैंलाई लिएर आफूभित्र भइरहेको परिवर्तन हेरिन्छ। शुरूमा मनलाई वशमा राख्न प्रशिक्षण दिइन्छ, जसका लागि श्वासप्रश्वास वा अन्य कुरालाई पनि आलम्बन बनाउन सकिन्छ। के कुरालाई कसरी आलम्बनका रूपमा लिने भनेर ध्यानगुरुको निर्देशन अनुसार फरक पनि हुन सक्छ। बुद्धको मुख्य शिक्षा अनित्य, दुःख, अनात्मको बोध गर्नु हो। यसबारे जानकारी लिएर लाभ हुँदैन, प्रत्यक्ष अनुभूति नै गर्नुपर्छ। यही अनुभूति गर्ने अभ्यास नै विपश्यना हो।
विपश्यना गरेर आनन्द आएको, विभिन्न रोग निको भएको, रिसाउने, झर्कने लगायत स्वभावमा परिवर्तन आएको जस्ता फाइदाहरूको उल्लेख गरेर ध्यान गर्न सुझाउनेहरू पनि हुन्छन्। मदिरा वा लागूपदार्थको लत छुटाउन पनि विपश्यना शिविरमा पठाउने गरिएको पाइन्छ। विपश्यनाको मूल उद्देश्य यो नभए पनि यी फाइदाहरू प्राप्त हुँदैन नै भन्न सकिन्न। तर दैनिक जीवनको भागदौड र सांसारिक झमेला छाडेर केही दिन शिविरमा रहँदा पाइने राहतलाई नै ध्यानको उपलब्धि मान्नु र ध्यान भनेको यही हो भनेर बुझ्नु भ्रम हो। थोरै आनन्दमै मग्न हुँदा यसले तृष्णा बढाइदिन्छ। जबकि बुद्धको शिक्षाले तृष्णा क्षयमा जोड दिन्छ।
विपश्यनाका साधक भएर जीवनदर्शनमा भने नित्यताको भाव बोकेर हिंड्नुु हदैसम्मको विरोधाभास हो। विपश्यनाको उद्देश्य नै अनित्यको बोध गर्नु हो। यसमा आत्मा, परमात्मा लगायत कुरा हुँदैनन्। नित्य र अनित्य दुई विपरीत दर्शन एकै साथ बढ्न असम्भव हुन्छ र यो विरोधाभास हुनु बुद्धको शिक्षा र ध्यानलाई नबुझ्नु हो। यही अज्ञानताका कारण सबै प्रकारका ध्यान बुद्धसँग सम्बन्धित वा बुद्धले अभ्यास गरेका भन्ने बुझाइ धेरैमा देखिन्छ। बुद्ध र बौद्ध धर्मदर्शनसँग कुनै साइनो नभएकाहरूले बुद्धको नामबाट ध्यान शिविर चलाउने, अनेक धन्दा गरेर बस्ने गर्नुले यसको पुष्टि गर्छ।
गत कात्तिक दोस्रो साता नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्धको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा आग्रह गरेका थिए। श्रेष्ठले लुम्बिनीमा फागुन २० गते तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ कार्यक्रमको उद्घाटन क्रममा यो जानकारी दिएका हुन्।
गुटेरेसले भनेको ध्यान बुद्धको शिक्षासँग सम्बन्धित हो। उनले स्पष्ट शब्दमा ‘बुद्धको शिक्षाको मुख्य भागका रूपमा रहेको ध्यान’ भन्नु र यो प्रसंग त्रिपिटक वाचनको उद्घाटनकै अवसरमा मन्त्री श्रेष्ठबाट व्यक्त हुनुले अन्य अर्थ लागेको छैन भनेर बुझ्न सकिन्छ। श्रेष्ठको पृष्ठभूमि मार्क्सवादी चिन्तन भए पनि उनी विपश्यनाका साधक हुन्। मार्क्सवादी चिन्तन र विपश्यनाको अभ्यासमा एक प्रकारको विरोधाभास नपाइने होइन तर बौद्ध धर्मदर्शनबारे पनि उनमा ज्ञान भएबाट वैचारिक घेरामा परिवर्तन आइसकेको मान्न सकिन्छ।
मन्त्री श्रेष्ठले समारोहमा गौतम बुद्धको शिक्षाको भण्डार रहेका तीन पिटकहरू विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देश बुझाउने भएकाले यिनलाई धेरैमाझ पुर्याउन नेपालीमा समेत प्रकाशन गर्न आवश्यक रहेको बताए। यथार्थ के छ भने, त्रिपिटक लगायत बौद्ध वाङ्मयहरूको अनुवाद कार्य व्यक्तिगत र जनस्तरमा मात्रै हुँदै आएको छ। केही ग्रन्थको अनुवाद र प्रकाशन नेपाली भाषामा पनि भइसकेको छ। तर यस कार्यमा राज्यको लगानीको अभाव छ।
अर्को कुरा, आधारभूत बौद्ध शिक्षा नहुँदा मौलिक त्रिपिटकको अनुवाद भए पनि त्यो बुझ्न कठिन हुन सक्छ। यस अर्थमा आधारभूत बौद्ध शिक्षामा ध्यान दिन जरुरी छ। यस्तै, बौद्ध शिक्षाको नाममा अन्य धर्मदर्शनलाई मिसाउन ल्याउने प्रवृत्तितर्फ पनि सचेत हुनुपर्छ। विपश्यनाको मात्रै कुरा गर्नुभन्दा बुद्ध र बौद्ध शिक्षालाई पनि सँगै अगाडि बढाउनुपर्छ, जसले गर्दा साधक अनेक भ्रमबाट जोगिन्छ।