गृहमन्त्री लामिछानेले प्रस्ताव पेश गर्न लाग्दा संसद् अवरुद्ध
गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा राजनीतिक दल सम्बन्धी प्रस्ताव प्रस्तुत गर्न लाग्दा संसद् अवरुद्ध भएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा गृहमन्त्रीमा लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। यसमा कांग्रेस सांसदले विरोध जनाएका हुन्।
उनीहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकलाई बोल्न समय दिएका थिए। कांग्रेसका प्रमुख सचेतक समेत रहेका सांसद लेखकले गृहमन्त्रीको नियुक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरे।
संसद् बैठकमा बोल्दै सांसद लेखकले विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफललाई निरन्तरता दिने भएपछि गृहमन्त्रीका विषयमा प्रधानमन्त्री दाहालले जवाफ दिनुपर्ने बताए। प्रधानमन्त्रीले जवाफ नदिएसम्म अन्य कार्यसूचीमा प्रवेश गर्न नहुने उनको भनाइ थियो।
बलजफ्ती अन्य कार्यसूचीमा प्रवेश गरिएमा रोस्टम घेराउ गर्ने सांसद लेखकले चेतावनी दिए। त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगन गरेका छन्।
गृहमन्त्री लामिछानेले प्रस्ताव पेश गरेपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ।
सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेमाथि अनुसन्धान जारी रहेकाले गृहमन्त्री हुँदा प्रभावित हुने कांग्रेसको आशंका छ। यसमा प्रधानमन्त्री दाहालले जवाफ दिनुपर्ने माग गरिएको छ।