चितवन राष्ट्रिय निकुञ्जमा गैंडा स्थानान्तरण शुरू
चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैंडा स्थानान्तरण शुरू गरेको छ।
नवलपुरको कावासोतीबाट एउटा गैंडालाई नियन्त्रणमा लिएर यसको शुरूआत गरिएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको संख्या बढी भएपछि केही गैंडालाई निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैंडालाई कावासोती नगरपालिका-२ स्थित वनबाट नियन्त्रणमा लिइएको हो। यो गैंडा मानव बस्तीमा समेत पस्ने गरेको उनले बताए।
उमेर बढी भएकाले यो गैंडालाई निकुञ्जको मुख्यालय कसराबाट पूर्वतर्फ लगेर छाडिने तिवारीले जानकारी दिए। उनका अनुसार निकुञ्जका हात्ती, हात्तीसारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनाको टोली परिचालन गरिएको छ।
निकुञ्जले अहिले ६ वटा गैंडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदन अनुसार गैंडा स्थानान्तरण गर्न लागिएको हो। आठ वर्षमाथिका गैंडालाई मात्र स्थानान्तरण गरिनेछ।
गैंडा स्थानान्तरणका लागि दुई साता समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी तिवारीले बताए। गैंडा स्थानान्तरणपश्चात् पश्चिम र पूर्वका गैंडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ।
पछिल्लो गणना अनुसार नेपालमा ७५२ गैंडा छन्। जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन्। चितवन राष्ट्रिय निकुञ्जमा ६९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा छन्।
एकै ठाउँमा धेरै गैंडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्छ। घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैंडा पूर्व स्थानान्तरण थालिएको हो। -रासस