गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन जाँचबुझ आयोगको प्रतिवेदन
गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।
शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझ्दै आयोगले गरेको सिफारिश कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्। उपप्रधानमन्त्री लामिछाने मार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रिया अनुसार प्रतिवेदनले औंल्याएका सिफारिश कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए।
प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन समेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा तत्काल काम अगाडि बढाउन पनि निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको सचिवालयले जनाएको छ। आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।