हिमालयन चेस एकेडेमीको उद्घाटन
युवा खेलाडी उत्पादन गर्ने लक्ष्य सहित स्थापित हिमालयन चेस एकेडेमीको उद्घाटन गरिएको छ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले बिहीबार काठमाडौंमा एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा घिसिङले चेसको विकासका लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सराहनीय भएको बताए। २०३६, २०३७ र २०३९ सालका च्याम्पियन लामाले एकेडेमी स्थापनाले चेसको सिकाइलाई थप सहज बनाउने उल्लेख गरे।
एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, “कलिलै उमेरदेखि चेस सिक्दा बालबालिकामा बौद्धिक विकास, संज्ञानात्मक विकास (कग्निटिभ डेभ्लपमेन्ट), धैर्य गर्न सक्ने क्षमताको विकास हुन्छ। त्यसैले हाम्रो लक्ष्य खेलाडी मात्रै उत्पादन गर्ने होइन, असल नागरिक बनाउने पनि हो।”
एकेडेमीले फागुनदेखि शनिबार र आइतबार कक्षा सञ्चालन गरिसकेको छ। त्यसमा ५ देखि १३ वर्षसम्मका ३० जना बालबालिका छन्। फिडे मास्टर रिजेन्द्र राजभण्डारी मुख्य प्रशिक्षक रहेको एकेडेमीले बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी चार वटा कोर्समा प्रशिक्षण दिनेछ।
एकेडेमीमा मोनालिशा खम्बू, रिजेन्द्र राजभण्डारी, याईशाष यासिर खम्बू, राष्ट्रिय च्याम्पियनहरू रूपेश जयसवाल र सुजना लोहनी तथा मिसन दाहाल, सुदीप तामाङ, दीपेश गिरी, प्रमित अमात्य र आरती छत्कुली गरी १० जना प्रशिक्षक छन्।