‘एउटा समुदायलाई दोष दिएर सद्भाव भड्काउन खोजिंदै छ’
संघीय सांसद अमरेशकुमार सिंहले आर्थिक, राजनीतिक मात्रै होइन देशमा सामाजिक तथा सुरक्षा संकट समेत देखिएको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद सिंहले विभिन्न घटनाको उदाहरण दिंदै नियोजित रूपमा सद्भाव बिगार्न प्रयास भइरहेको दाबी गरे। “फागुन २९ गते मलंगवामा दुई वटा मन्दिरमा उच्छृंखल तत्त्वले साम्प्रदायिक सद्भाव भड्काउने उद्देश्यले तोडफोड गरे,” उनले भने, “एउटा समुदायका गलत मान्छेले तोडफोड गरे तर अर्को समुदायलाई दोष दिएर सद्भाव भड्काउने प्रयास गरियो।”
विभिन्न जिल्लामा कर्फ्यू लगाउनुपर्ने अवस्था आउँदा पनि संसद्को राज्य व्यवस्था समिति, गृह प्रशासन लगायत निकायको पर्याप्त ध्यान नपुगेको सिंहको भनाइ थियो। “विस्तृत अध्ययन गरेर एकीकृत सुरक्षा प्रणाली मार्फत उच्छृंखल तत्त्वलाई कानूनको घेरामा ल्याउनुपर्दछ,” उनले बैठकमा भने।
राष्ट्रिय सुरक्षा र अखण्डता खतरामा रहेको भन्ने नेपाली सेनाका प्रधानसेनापतिको सार्वजनिक अभिव्यक्तिको लेखाजोखा गर्नुपर्ने सांसद सिंहको माग छ। उनले भने, “नेपाललाई कोबाट खतरा छ? किन खतरा छ? प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ।”
प्रधानसेनापति प्रभुराम शर्माले बुधबार उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुभारम्भ कार्यक्रममा बोल्दै भौगोलिक तथा आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्व अक्षुण्ण राख्न चुनौती थपिएको बताएका थिए। त्यस्तै, विखण्डनवादी वा पृथक्तावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको शर्माको भनाइ थियो।
सांसद सिंहले सदनमा राखेको धारणा :
राष्ट्र आर्थिक, राजनीतिक, सामाजिक र सुरक्षा संकट छ। फागुन २९ गते सर्लाहीको मलंगवामा दुई वटा मन्दिरमा उच्छृंखल तत्त्वले साम्प्रदायिक सद्भाव भड्काउने उद्देश्यले तोडफोड गरे। एउटा समुदायका गलत मान्छेले तोडफोड गरे तर अर्को समुदायलाई दोष दिएर सद्भाव भड्काउने प्रयास गरियो। यसअघि वीरगन्जमा फलानो समुदायको पसलमा केही पनि किन्नु हुँदैन भनेर उक्साउने काम भयो।
यस्तो संवेदनशील विषयमा राज्य–प्रशासन मौन छ। संसद्को राज्य व्यवस्था समिति र गृह प्रशासनसँग सोध्न चाहन्छु- तपाईंहरूलाई सामाजिक सद्भावको चिन्ता छैन? मधेशका कतिपय जिल्लाहरूमा कर्फ्यू लगाउनुपरेको अवस्था छ। यसको विस्तृत अध्ययन गरेर एकीकृत सुरक्षा प्रणाली मार्फत उच्छृंखल तत्त्वलाई कानूनको घेरामा ल्याउनुपर्छ।
नेपाली सेनाका प्रधानसेनापतिले एउटा सार्वजनिक कार्यक्रममा राज्यको सुरक्षा, अखण्डता खतरामा छ भन्नुभयो। त्यसको हामीले लेखाजोखा गर्ने कि नगर्ने? प्रधानसेनापतिले सुरक्षा परिषद्को बैठकमा पछिल्लो ६ महीनादेखि यो कुरा बोलिरहनुभएको छ।
आफ्नो निहित स्वार्थका लागि केही दल र राजनीतिक व्यक्तिले नेपाललाई अस्थिर बनाउन खोज्दै छन्। विदेशीको इशारामा नेताहरूले देशलाई गरीब त बनाएकै छन्, अस्थिर पनि बनाउन लागेका छन्। देशको अखण्डतामा खतरामा पुर्याउने काम गरेका छन्।
नेपाली जनतालाई यो कुरा स्वीकार्य छैन। हामीले एक थान प्रधानमन्त्री वा एक थान मन्त्रीका लागि देशको अस्मितासँग खेलबाड गर्ने? देशको भौगोलिक अखण्डतामा खेलबाड गर्ने? साम्प्रदायिक सद्भाव भड्काएर देशलाई कहाँ पुर्याउन खोजिंदै छ? सामाजिक सद्भाव खलबलियो भने हामी कहाँ पुग्छौं? यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
पछिल्लो एक वर्षभित्र साम्प्रदायिक सद्भावका कारण विभिन्न जिल्लामा कर्फ्यू लगाउनुपर्ने अवस्था किन आयो? सरकार कहाँ चुक्यो? कुन दलको दलालीका कारणले सद्भाव भड्काउन खोजिंदै छ? यस विषयमा प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्रीको जवाफ चाहन्छु। कोशी र सुदूरपश्चिम प्रदेशमा के भइरहेको छ? सरकारले सदनलाई जानकारी गराओस्। नेपाललाई कोबाट खतरा छ? किन छ भन्ने कुराको जवाफ प्रधानमन्त्रीले सदनमा गराउनुपर्छ।