उदयपुर दुर्घटनामा ६ महीने बालक सहित आठको मृत्यु, नौ जना घाइते
उदयपुरमा भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ भने नौ जना घाइते छन्।
धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीबार उदयपुरमा दुर्घटना भएको थियो। दुर्घटनामा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताए।
दुर्घटनामा ज्यान गुमाएका अधिकांश यात्रु भोजपुरको हतुवागढी गाउँपालिकाका छन्। प्रहरी निरीक्षक राईका अनुसार दुर्घटनामा हतुवागढी-२ का गाडी चालक मानबहादुर बस्नेत, चन्द्रप्रकाश राई, पर्वतमाया राई र ६ महीनाका बालक दिशान राईको ज्यान गएको छ।
त्यस्तै, हतुवागढी-५ की रामकुमारी राई र किसन राई, बराहक्षेत्र नगरपालिका-३ का पदमबहादुर थापा र इटहरीकी कमला अधिकारीको मृत्यु भएको छ। सात जनाको घटनास्थलमा र किसन राईको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो।
दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइते हुनेमा विशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ राई र निकिता कटुवाल छन्। उनीहरूको उपचार भइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।