कोशी प्रदेशमा मेरो विकल्प छैन : मुख्यमन्त्री कार्की
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र संविधानविद्सँगको छलफलपछि मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा आफ्नो विकल्प नभएको प्रतिक्रिया दिएका छन्।
काठमाडौं पुगेर मुख्यमन्त्री कार्कीले बिहीबार कांग्रेस सभापति देउवा लगायत नेताहरूसँग भेट गरेका छन्। पछिल्लो राजनीतिक समीकरण र कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारका विषयमा छलफल केन्द्रित थियो। देउवा निवासमा भएको छलफलमा कोशीमा कार्कीको विकल्प नभएको निष्कर्ष निकालिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले हिमालखबरसँगको टेलिफोन वार्तामा भने, “कोशी प्रदेशको अवस्था के कस्तो छ भन्ने विषयमा छलफल भयो, मेरै नेतृत्वमा कोशी प्रदेश सरकार निरन्तर चल्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ।”
सरकार गठन प्रक्रियाका सम्पूर्ण धाराहरू प्रयोग भएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफ्नो नेतृत्वमा बनेको कोशी प्रदेश सरकारको विकल्प नभएको उनको भनाइ थियो। नयाँ सरकार गठनको सम्भावना नरहेको मुख्यमन्त्री कार्कीको जिकिर छ।
“बैठकमा नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गरेका छौं,” नयाँ सरकार गठनको सम्भावना नभएको निष्कर्ष आएको बताउँदै कार्कीले भने, “अर्को विकल्प सोच्नु भनेको कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा धकेल्नु हो।”
यस विषयमा संविधानविद्सँग पनि छलफल गरेको कार्कीले बताए। “कोशीमा अहिले अर्को सरकारको विकल्प नै छैन,” उनले भने, “संविधानविद्पिच्छे फरक कुरा हुन सक्छन् तर ढुक्क हुनुपर्ने कुरा कोशीमा नयाँ सरकार गठनको सम्भावना छैन, सभापतिसँग पनि यही विषयमा छलफल भयो।”
नयाँ सरकार गठन वा अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्ने कुनै सम्भावना नरहेको निचोडमा पुगेको सुनाउँदै कार्कीले अहिले सरकारमा सहभागी कसैलाई हटाउनेबारे नसोचेको बताए। “अहिलेकै मन्त्रिपरिषद् निरन्तर रहन्छ, मेरो नेतृत्वको सरकार कोशीमा सर्वदलीय सरकार गठनका लागि सधैं आह्वान गर्छ,” कार्कीले भने, “अरू साथीहरू सरकारमा सामेल हुन चाहनुहुन्छ भने स्वागत छ।”
केन्द्रमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धन भत्किएपछि कोशी प्रदेश सरकारमा पनि यसले असर पारेको छ। उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफ्नै पार्टीका आठ सांसद लिएर तत्कालीन गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्री नियुक्त भएका थिए।
त्यसयता संस्थापन पक्षसँग कार्कीको सम्बन्ध चिसिएको कोशीका कांग्रेस सांसदहरूले बताउँदै आएका छन्। यही सन्दर्भलाई लिएर मुख्यमन्त्री कार्कीले देउवा लगायत कांग्रेस पदाधिकारीसँग भेटवार्ता गरेका हुन्। कार्कीसँगको छलफलमा सभापति देउवा लगायत नेताले पनि सरकार टिकाउनुपर्नेमा जोड दिएका छन्।