संसद्मा कांग्रेसको प्रश्न- अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई किन गृहमन्त्री बनाइयो?
नेपाली कांग्रेसले गृहमन्त्रीमा रवि लामिछानेको नियुक्तिको विषयलाई लिएर संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरेको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। कांग्रेस सांसद उठेपछि सभामुख घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए।
कांग्रेस सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे। उनले निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे।
“आफ्नो पेट काटेर थोरै थोरै बचत गर्दै गइरहेका न्यून आय भएका करीब पौने करोड शेयर सदस्यको पसिनाको कमाइ केही ठगहरूले कुम्ल्याउँदाको परिणाम देशैभर अविश्वास, असुरक्षा र आक्रोश चुलिएको छ,” पाण्डेले भने, “अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने निकाय गृह मन्त्रालयको कमान्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कातिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ।”
आफैं अनुसन्धानको दायरामा रहेका गृहमन्त्री लामिछानेले अरूलाई कसरी कारबाहीको दायरामा ल्याउँछन् भनेर पाण्डेले प्रश्न गरे। उनले भने, “सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, शेयर सदस्य नभएका व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ?”
सांसद पाण्डेले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे। त्यसपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे जवाफ दिने विश्वास रहेको बताए।
प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि कांग्रेस सांसदले गृहमन्त्रीको नियुक्तिका विषयमा प्रश्न उठाएका थिए। उनीहरूले प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। प्रधानमन्त्री दाहालले यस विषयमा जवाफ नदिए संसद् अवरुद्ध पार्ने कांग्रेस सांसदले चेतावनी दिएका छन्।