सेरेङहरूलाई फकाउन पृथ्वीनारायण शाहले खेपेको सकस
गोरखालीले लिम्बुवान कब्जा गरिसकेपछि पनि पृथ्वीनारायण शाहले सेरेङ लिम्बूहरूलाई हात लिन अनेक प्रयास गर्दा समेत आफ्नो जीवनकालमा सफलता पाएनन्।
लिम्बू जातिभित्र मावोहाङ, फागो, चोङबाङ, सेनिहाङ, थिन्दोलुङ खोयाहाङ जस्ता विभिन्न समूह छन्। ती समूहभित्र विभिन्न थरका लिम्बू छन्। चोङबाङ अन्तर्गत पर्ने एक थर हो, सेरेङ। कसैले सिरेङ, कसैले श्रेङ पनि लेख्ने गरेका छन्। यो थरका लिम्बूहरूको प्रसंग परेको पृथ्वीनारायण शाहकालीन दुई वटा पत्र उपलब्ध छन्। तीमध्ये एउटामा ‘श्रृंग्या’ र अर्कोमा ‘सिरिङ्ग्या’ उल्लेख छ।
यो थरका लिम्बूहरूलाई पृथ्वीनारायण शाहले मात्र होइन, रणबहादुर शाहसम्मले उच्च महत्त्व दिंदै आफूसँग मिल्न आउन पत्राचार गरेका ऐतिहासिक पत्रहरू उपलब्ध छन्। यसबाट विसं १८३१ साउनमा अभिमानसिंह बस्न्यातको नेतृत्वमा गोरखालीले विजयपुर हात लिए पनि सेरेङ लिम्बूहरू गोरखाली मातहतमा आउन नमानेको प्रमाणित हुन्छ। साथै, त्यस समय सेरेङ लिम्बूहरू महत्त्वपूर्ण राजनीतिक शक्तिका रूपमा थिए भन्ने पनि देखिन्छ। यो लेख यसै ऐतिहासिक प्रसंगसँग सम्बन्धित छ।
सेरेङ चोङबाङको प्राचीनता
ताप्लेजुङको सान्थाक्रामा आवाद रही त्यहाँको किपट सम्हाल्ने सेरेङ चोङबाङहरूको विरासत निकै पुरानो देखिन्छ। यस सन्दर्भमा यहाँ एक अनुश्रुति उल्लेख गरिन्छ।
सेरेङहाङलाई उनका शत्रुहरूले वेलावेला आक्रमण गर्थे। आक्रमणको सामना गर्न आफू असमर्थ भएपछि उनले छिमेकी राजा पोमुहाङसँग सहयोग मागे। पोमुहाङले यक्सोहरूसँग सहयोग माग्न सुुझाव दिए। सेरेङहाङलाई सहयोग गर्न यक्सोहरूमध्ये दुई शूरवीर थाकमिया र मुरेगन तयार भए। उनीहरूले शत्रुका राजालाई झुक्याएर मारी सेरेङहाङको संकट टारिदिए।
यक्सोहरूको पुर्खामध्ये मावोहाङलाई प्रतापी र धार्मिक राजा मानिन्छ। उनी आराध्यदेवी युमाका ठूला उपासक थिए। उनै राजाका सन्तानले आफूहरूलाई मावोहाङ भन्छन्। जस्तैः मावोहाङ यक्सो, मावोहाङ चेम्जोङ आदि।
मावोहाङ यक्सोको माङ्गेना (गाथा)मा गाइने मुन्धुममा थाक्मिया र मुरेगनको विशेष गुणगान गाइन्छ। जस्तैः
थाक्मिया र मुरेगनको भावी सन्तान
उनीहरूको रक्षा गर्ने
गहनाले सुसज्जित सन्तानहरू।
मावोहाङ यक्सो वंशावलीमा वीरका रूपमा गाथा गाइने थाकमिया र मुरेगनको नाम उल्लेख छ। यक्सोहरूको वंशावली ‘यक्सो इत्लाम’ का अनुसार मावोहाङका छोरा मुदाहाङका तीन भाइ छोरा थिएः थाक्मिया, मुरेगन र काप्पेनहाङ।
गोरखालीहरूको अधीनमा पुगेको लिम्बुवान क्षेत्रमै बसेर सेरेङहरूले नयाँ शासकलाई त्रस्त पार्दै आफ्नो राजनीतिक अस्तित्व कायम गरिरहेका थिए।
इतिहासकार इमानसिंह चेम्जोङको पुस्तक किरात इतिहास र संस्कृति (२०६३ः८९) अनुसार मावोहाङको शासनकाल सन् ८६५ देखि ८८० सम्म थियो। वंशावली अनुसार मावोहाङपछि राजाका रूपमा मुदाहाङको सक्रियता सन् ८८० बाट शुरू भयो। यही आसपास वा १० देखि १५ वर्षपछि सेरेङहाङलाई समस्या पर्दा सहयोग गर्न थाकमिया र मुरेगन गएका हुन सक्छन्।
यसरी हेर्दा सेरेङहरूको यस क्षेत्रको ऐतिहासिक विरासत एक हजार वर्षभन्दा पुरानो देखिन्छ। यसबाट पनि सेरेङ चोङबाङहरूको प्राचीनताको झलक नियाल्न सकिन्छ।
सेनकालमा सेरेङ लिम्बू
सेरेङहरूको इतिहासको जरो गहिरो भए जस्तै लहरा पनि लामो देखिन्छ।
विजयनारायण राय विजयपुरका अन्तिम राजा हुन्। उनीपछि उनका सन्तानलाई त्यहाँका मन्त्री मुरेहाङका सन्तानले विजयनारायणका उत्तराधिकारीहरूलाई राजा बन्न दिएनन्। बरु उनीहरूले सेनहरूलाई गुहारे र लोहाङ सेनलाई विजयपुरका राजा बनाए। आफूहरू चाहिं त्यहाँका दिवान (मन्त्री) बने। विजयपुरमा सेन राजा भए पनि शासनको हर्ताकर्ता मन्त्रीका रूपमा लिम्बूहरू नै हुन्थे।
सेनहरूले लिम्बूहरूलाई निकै विश्वासमा लिएको देखिन्छ। इमानसिंह चेम्जोङको पुस्तक किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (२०३२ः३९–४०)लाई उद्धृत गर्दै इतिहासकार डा. राजाराम सुवेदीले पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपालको पूर्णांक १४७ मा (असार २०५८ः४३)मा लेखेको लेख ‘मकवानपुर राज्य’ मा उल्लेख गरे अनुसार किरातहरूमा मोरङमा विद्याचन्द्र राय, सप्तरीमा चोङबाङ राय, महोत्तरीमा लिवाङ राय र मकवानपुरमा सेरिङ रायलाई इज्जतसाथ राखिएको थियो।
यसबाट हेर्दा सेरेङहरू प्रशासन चलाउँदै मकवानपुरसम्म पुगेको देखिन्छ।
सेरेङहरू मकवानी सेन राजाहरूसँगै भएको प्रमाण शाहकालीन एक पत्रबाट पनि पुष्टि हुन्छ। इतिहासप्रधान पत्रिका पूर्णिमाको पूर्णांक ५८ (चैत २०४०ः३९–४०) मा त्यस वेला रणबहादुर शाहले विजयपुरमा रहेर गोरखाली प्रशासन चलाइरहेका सुब्बा जोगनारायण मल्ललाई लेखेको पत्र हेर्दा सेरेङहरू मकवानपुरका सेनहरूसँग नजिक थिए भन्ने प्रमाणित हुन्छ। यस प्रसंगमा पत्रको व्यहोरा यस्तो छः
“...उप्रान्त लिंवु श्रृंग्याहरु मिल्न आउँदैछन् भन्ने कुरो तिमीले लेखेछौ। हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्या जस्तो गरी बीरभद्र राई जस्तो आयथ्यो। त्यस्तै गरी निख्रिकन आया पिछा लेऊ।”
यस पत्रमा उल्लिखित वाक्यांश ‘हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्या जस्तो गरी...’ उल्लेख हुनुले सेरेङहरू पहिल्यैदेखि मकवानी सेनहरूसँग नजिक थिए र गोरखाली शाहहरूले उनीहरूलाई हात लिन पटक पटक प्रयास गर्दा पनि सफल नभएको भन्ने पुष्टि गर्छ।
‘स्मृति’ समूहमा सेरेङहरू
लिम्बूहरूमा दुई खालको समूह थियो। तर समयक्रममा लिम्बूहरूले आफूहरू विभाजित रहेको यस्तो समूहबारे बिर्सिसकेका थिए। बेलायतको ब्रिटिश लाइब्रेरीमा हज्सन पाण्डुलिपि अध्ययन गरेर फर्केपछि इतिहासकार डा. रमेश ढुङ्गेलले प्रवचन तथा लेखन मार्फत लिम्बूहरूमा ‘नीति’ र ‘स्मृति’ समूह रहेको तथ्य उजागर गरिदिए।
गोरखाली शासकहरूले आफ्नो शासन र धर्म–संस्कृति स्विकार्नेहरूलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् ‘समरीति’ र लिम्बू धर्म–संस्कृतिमै अडिग रहेर गोरखाको शासन नमान्ने, विद्रोही लिम्बूहरूलाई ‘नीति’ समूहको रूपमा चिन्ने/चिनाउने चलन चलाइदिए (डा. रमेश ढुङ्गेल, हिमाल पूर्णाङ्क १६६ (२०६२ फागुन १६–२९):६०)। समरीतिलाई ‘स्मृति’ तथा ‘संपृति’ पनि लेख्ने गरिएको छ।
ब्रिटिश लाइब्रेरीमा सुरक्षित ब्रायन हज्सनको संकलन रहेका सामग्रीको खण्ड ६० पत्र १२९–१४९ मा उल्लेख भए अनुसार स्मृति समूहमा फागु (फागो चोङवाङ), सिरिङ (सेरेङ) र युङ्याहाङ (योङहाङ) छन् भने ‘नीति’ समूहमा आङ्वोहाङ र साँवाहरू छन्। यो लेखोट विसं १९०० तिर इलामका जोभानसिंह फागो लिम्बूले लिम्बू भाषा र सिरिजङ्गा लिपिमा पुनर्लेखन गरेर तयार पारेका हुन् (ढुङ्गेल, २०६२ः६०)।
यस्तै, विसं १८७५ फागुन वदि ६ रोज ३ मा विजयपुर हुँदै धनकुटा पुगेका काजीबहादुर भण्डारीलाई लेखिएको पत्रमा लिम्बूहरूमा सेनकालदेखि नै नीति र स्मृति समूह रहेको स्पष्ट संकेत पाइन्छ। पत्रमा ‘...लिम्बू किरातीहरूका नीति स्मृतिका कुरामा अघि पनि कोही नीति कोही स्मृति मान्याका हुन् पछि वीरभद्र कुवर जाँदा स्मृतिमा सबै राजी छन् भनी बिन्ती सर्कारमा आउँदा स्मृतिकै लालमोहर भै गयाको हो। पंथ काजी जाँदा हाम्रा ता अघिदेषि स्मृति हो तेसैमा राजी छौं मज(कुर) काजीले नीति गराया भन्छन् भन्या अर्जी उनको आउदा स्मृतिकै लालमोहर भै गएथ्यो फेरि पंथ काजीले नीतिमा राजी छौं भन्छन् भनी लेषता नीतिकै लालमोहर भै गयोथ्यो’ भन्ने उल्लेख छ (ज्ञानमणि नेपाल, नेपाल निरूपण –२०५५ः२६९)।
लिम्बुवानलाई हात लिनुअघि नै पनि पृथ्वीनारायणले सेरेङ लिम्बूहरूको बारेमा चासो राख्दै उनीहरूलाई आफूसँग मिलाइदिन आग्रह गरेका थिए। लिम्बुवानमा आक्रमण गर्नुअघि उनले लिम्बूहरूलाई हात लिन आफ्ना दूतहरू घुसाउँदै थिए।
समूह अन्तर्गतको सेरेङ चोङवाङकै सन्दर्भ सोही पत्रमा स्पष्टसँग जोडिएको छ। यसमा सेरेङहरूले सेनकालदेखि नै स्मृति समूह अन्तर्गत रहेर लालमोहर लिने गरेको देखिन्छ। पत्रमा ‘...हाम्रो त अघि सेन राजाका पालामा पनि स्मृति हो (श्री पृथ्वीनारायण शाह) अमल भयापछि पनी हामीलाई स्मृतिमा रहनु भन्या हुकुम लालमोहर बक्सनु भयाको छ। हामी स्मृतिमा राजी छौं भनी फागु सिरिंग्या गैरह दर्वारमा विन्ती गर्न आइरह्याका छन्। एकै मूलुकमा कोही नीति मान्या कोही स्मृति मान्या दुई फ्याक भै रह्या छन् तसर्थ तिमीले लिम्बू किराती गैह्र छ थर दश थर सबै बाटुल गरी बझ्नु र सबैको एक मतो नीति स्मृति क्यामा हुन्छ सो विस्तार लेषखु’ भनेर लेखिएको छ (नेपाल, २०५५ः२६९–२७०)।
यो ऐतिहासिक पत्रबाट पनि सेरेङ चोङवाङ लिम्बूहरू ‘स्मृति’ समूहमा थिए भन्ने स्पष्ट हुन्छ।
सेरेङहरूलाई फकाउन सास्ती
गोरखालीहरू राज्य विस्तार अभियानका क्रममा लिम्बुवान पुग्दा त्यहाँका लिम्बू सुब्बाहरूको फौजसँग भीषण युद्ध भयो। युद्धमा गोरखालीहरूले बल, छल र कूटनीति सबै प्रयोग गरेको इतिहास पढ्न पाइन्छ। यसो हुँदा लिम्बू सुब्बाहरूमा फुट आयो र केहीले गोरखालीसँग सन्धि गरे, केही सिक्किम पसेर गोरखालीहरूसँग पुनः युद्धका लागि तयारी गर्न थाले।
त्यस्तो अवस्थामा सेरेङहरू चाहिं न त सन्धिमा तत्कालै सहभागी भए न सिक्किम पलायन भए। उनीहरूलाई आफूतिर मिलाउन गोरखालीहरूले निरन्तर प्रयास गरिरहे। गोरखालीहरूको अधीनमा पुगेको लिम्बुवान क्षेत्रमै बसेर सेरेङहरूले नयाँ शासकलाई त्रस्त पार्दै आफ्नो राजनीतिक अस्तित्व कायम गरिरहेका थिए।
गोरखालीहरूले युद्ध र सन्धि मार्फत लिम्बुवान हात पारिसकेपछि पृथ्वीनारायण शाहले आफ्ना भारदारसँग सेरेङहरूबारे विशेष चासो राखेका थिए। विसं १८३१ आश्विन बदी ३० मा पूर्वतिर खटिएका अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, कीर्तिसिंह खवास, बली बानियालाई पृथ्वीनारायणले लेखेको पत्रमा ‘...चौदंड महा गढि तुल्याउनको विस्तार औ. कुह्रिल्याबाट फौज हिड्याको. तिनै मुषले गर्न्या काजको चांजो. लिम्बु श्रृंग्याका सुवा. सुवाले मान्न आयाको. सवै विस्तार विंति गरि पठाया छौ विधि विस्तार सुन्यौ...’ भन्ने उल्लेख छ (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी –२०६१ः४३१)।
पत्रमा उल्लिखित ‘श्रृंग्या लिंवु’ सेरेङ लिम्बू हुन्।
उसो त लिम्बुवानलाई हात लिनुअघि नै पनि पृथ्वीनारायणले सेरेङ लिम्बूहरूको बारेमा चासो राख्दै उनीहरूलाई आफूसँग मिलाइदिन आग्रह गरेका थिए। लिम्बुवानमा आक्रमण गर्नुअघि उनले लिम्बूहरूलाई हात लिन आफ्ना दूतहरू घुसाउँदै थिए। माघ सुदी ४ रोज ३ मा मुकाम कान्तिपुरबाट कालंपुरी गोसाई मार्फत पुनि राय लिम्बूलाई पत्र पठाएका थिए। हाल फाल्गुनन्द गाउँपालिका, नवमीडाँडाका हर्कबहादुर आङ्देम्वेसँग सुरक्षित उक्त पत्रमा सेरेङहरूलाई आफूहरूको हात लगाइदिए सुन, मोती, हात्ती लगायत उपहार दिइने प्रलोभन देखाइएको छ। पत्रमा भनिएको छ, “...कामदत्त सेनको पालोमा या आज उनको परलोक भै गयो तपनि कुन उनका सेवक कुनं हाम्रो तुम्रो दपहा जति लिंवु सिरिङ्ग्या छन् हात गरी हाम्रो पाव भन्या तेतावाट काज गर्याका दिन सुनका कंडा मोति हातिसर सिर्पाउ विशेष गरी र कट काज गर...।”
यो पत्रमा महीना उल्लेख भए पनि साल लेखिएको छैन। तर विसं १८३० को माघमै लेखिएको हो भन्न गाह्रो छैन। किनकि विसं १८३१ को माघमा त पृथ्वीनारायणको निधन भइसकेको थियो।
यी पत्रहरूबाट के स्पष्ट हुन्छ भने पृथ्वीनारायणले सेरेङ लिम्बूहरूलाई विशेष महत्त्व दिएका थिए, र उनीहरूलाई हात लिन जरूरी ठानेका थिए।
यहाँ उल्लिखित पृथ्वीनारायण शाहको विसं १८३१ आश्विन वदी ३० को लालमोहरमा गोरखाली सैन्य अधिकारीहरूले पृथ्वीनारायणलाई सेरेङहरू आफूहरूसँग मिल्न आएको भनी जानकारी गराएको स्पष्ट हुन्छ। तर उनीहरू पछिसम्म गोरखालीहरूसँग नमिलेको र तिनका लागि खतरनाक समूह भइबसेको संकेत मिल्ने अन्य पत्रहरू पनि छन्। इतिहासकार दिनेशराज पन्तले पूर्णिमाको पूर्णाङ्क ५८ (चैत २०४०ः३०–४४) मा ‘श्री ५ रणबहादुर शाहका नौ वटा अप्रकाशित लालमोहर’ शीर्षकमा प्रकाशित ऐतिहासिक पत्रहरूमध्ये तीन वटामा सेरेङहरूको प्रसंग परेको छ। एउटा प्रसंग माथि उल्लेख गरिसकिएको छ।
रणबहादुर शाहले विजयपुरमा बसेर प्रशासन चलाइरहेका सुब्बा योगनारायण (कतै जोगनारायण लेखिएको) मल्ललाई लेखेको पत्रमध्ये एउटामा लिम्बू साँवा र सेरेङहरूले गोरखाली गुहारेको कुरा गोरखाली प्रशासकबाट राजा समक्ष पुगेको बुझिन्छ। पत्रमा ‘सांभा र सिरिंले फेदावबाट पनि गुहार मागी पठायो। सुब्बा २/३ हामीतिर भयाका छन्। प्रजा भोट्यातिर छन् भनी लेखेछौ। योग्यै हो...’ उल्लेख छ। त्यस वेला भोटबाट पनि वेलावेलामा लिम्बुवानमा आक्रमण र हस्तक्षेप हुँदो रहेछ। त्यस्तो अवस्थामा सेरेङ र साँवाहरूले गोरखालीहरूसँग सहयोग मागेका थिए भन्ने बुझिन्छ।
तर अर्को पत्र पढ्दा गोरखालीहरूले सेरेङहरूलाई तत्कालै विश्वास गर्न नसकेको, बरु उनीहरू आफूहरूका लागि खतरनाक छन् भन्ने भयमा रहेको बुझिन्छ। त्यो समय सेन राज्य फर्काउने उद्योगमा विस्थापित मकवानी राजघरानासँग भारतमा रहेर अंग्रेजहरूसँग सरसल्लाह गरिरहेका थिए, स्वरूपसिंह कार्की। त्यस वेला विस्थापित सेन राजघराना पूर्वतिरबाट गोरखालीका लागि खतरनाक थिए। कार्की पहिले चौदण्डीका काजी थिए। उनलाई दक्षिणतिरबाट खतरनाक मानिएको छ। सेरेङहरू चाहिं उत्तरतिरबाट आफूहरूका लागि खतरा रहेको गोरखालीहरूलाई महसूस भएको संकेत अर्को एउटा पत्रबाट मिल्छ। सेरेङहरूले गोरखालीसँग गुहार मागेको पत्रपछिको क्रममा राखिएको यो पत्र सम्भवतः अघिल्लो पत्रभन्दा पछि नै लेखिएको हुन सक्छ। पत्रमा मिति खुलेको छैन। पृष्ठ ४३–४४ मा प्रकाशित पत्रमा सेरेङको प्रसंग यस्तो छः
“...मकवानी साहेव पनि यहाँबाट भागेर मुगलानमा हांगामा गर्न लागि रहेछ पूर्वतिर पनि उत्तर भन्या लिंवु श्रृंग्या दषिन नी सरुप छदैछन्...।”
यसबाट सेरेङहरू कहिले आफूहरूसँग मिल्ने र कहिले फुट्ने गरेकाले गोरखालीहरूको टाउको दुखाइ बनेर लामो समय टिकिरहेको देखिन्छ।
अघिल्ला पत्रहरूको मिति खुले पनि सेरेङहरूको प्रसंग परेका ती पत्रमा मिति खुल्दैनन्। अघिल्ला पत्रहरू विसं १८३४ देखि १८३७ सम्ममा लेखिएको देखिन्छ। त्यसैले सेरेङहरूको प्रसंग परेको पत्र १८३७/३८ ताकाको हुन सक्छ।
प्रामाणिक ऐतिहासिक स्रोतहरू अनुसार पृथ्वीनारायणले आफ्नो जीवनकालमा सेरेङ लिम्बूहरूलाई हात लिन सकेनन्। उनका छोरा प्रतापसिंह शाहका उत्तराधिकारी रणबहादुर शाहको राज्यकालमा १८३९ तिर मात्र सेरेङहरू बल्ल गोरखालीहरूसँग मिल्न पुगे।
यसको अगुवाइ सेरेङका सुब्बा रैनसिंह रायले गरेका थिए। रणबहादुर शाहले उनलाई सम्बोधन गरेको लालमोहर शिवकुमार श्रेष्ठ लिखित पुस्तक लिम्बुवानको ऐतिहासिक अध्ययन (२०६८ः११७) मा पढ्न पाइन्छ। यस पत्रमा रैनसिंहलाई हतियार लिन आउन राजधानी बोलाइएको छ (श्रेष्ठ, २०६८ः११८)। त्यस अनुसार रैनसिंहले राजधानी पुगेर १८४० जेठ सुदी १२ रोज १ मा ३०० खुँडा, ३२ नाल बन्दूक र २२८ थान धनुकाँड रणबहादुर शाहबाट बुझे।