अनलाइन ठगीको आरोपमा दुई बाङ्लादेशी सहित तीन जना पक्राउ
नेपालीको नागरिकताको प्रयोग गरेर अनलाइन मार्फत ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौंको नयाँबजार बस्ने २३ वर्षीया सुनीता खत्री र उनको बयानको आधारमा बाङ्लादेशी नागरिक ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानविर हुसेनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। नेपालीको नागरिकता प्रयोग गरेर अनलाइन मार्फत ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए।
उनीहरूले अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि भएको बताउँदै ग्रामीण भेगका बासिन्दालाई रकम दिएर नागरिकताको फोटो खिचेर लगेका थिए। गत फागुन २८ मा मोरङको सुन्दरहरैंचा नगरपालिका-८ स्थित सलकपुरका बासिन्दालाई भेला गरेर रकम दिंदै नागरिकताको फोटो खिचेका थिए।
३० जनाभन्दा बढीको नागरिकताको फोटो खिचेर लगेको सूचना पाएपछि प्रहरीले खोजतलास गरेको थियो। खोजीका क्रममा प्रहरीले सुनीतालाई फागुन २९ मा सलकपुरबाटै पक्राउ गरेको थियो।
उनको बयानका आधारमा बाङ्लादेशका नागरिक महबुर र तानविरलाई पक्राउ गरिएको दाहालले बताए। प्रहरीका अनुसार उनीहरूले परोपकारी संस्था डब्लूबीएससीका प्रतिनिधि भन्दै स्थानीय बासिन्दालाई एक हजारदेखि एक हजार ५०० रुपैयाँका दरले रकम दिएका थिए।
नागरिकताको प्रयोग गरी डिजिटल वालेटको खाता खोलेर इसेवा र खल्तीमा रकम जम्मा गर्ने उद्देश्य रहेको पाइएको दाहालले बताए। काठमाडौंमा गार्मेन्ट उद्योगमा काम गर्ने उनीहरू सुनीतालाई लिएर मोरङ आएका थिए।
उनीहरूबाट प्रहरीले १५ वटा सिम कार्ड बरामद गरेको छ। त्यस्तै, ब्यांकका एटीएम कार्ड पनि फेला परेका छन्। अनलाइन ठगीमा यसरी नै अर्काको नागरिकता प्रयोग गरेर खाता खोलिने गरेको दाहालले बताए।
तीनै जनालाई ठगी उद्योगको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।