प्यालेस्टाइनमा भइरहेको इजरायली आक्रमणको नेपाली चिकित्सकद्वारा भर्त्सना
इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रका अस्पताल तथा स्वास्थ्य क्षेत्रमा गरेको बमबारीको नेपाली चिकित्सकले भर्त्सना गरेका छन्।
बिरामी, स्वास्थ्यकर्मी, चिकित्सक तथा निर्दोष नागरिकको हत्या गरेको तथा स्वास्थ्य पूर्वाधार ध्वस्त पारेको भन्दै नेपाली चिकित्सकले विज्ञप्ति मार्फत विरोध जनाएका हुन्। उनीहरूले भनेका छन्, ‘हामी नेपाली चिकित्सकहरू यस्तो निन्दनीय आपराधिक कार्यको घोर भर्त्सना गर्दछौं।’
प्यालेस्टाइनका अस्पतालमा गराइएको बम विस्फोटको समर्थन गर्ने इजरायली डाक्टरहरूको विज्ञप्तिको समेत नेपाली चिकित्सकले विरोध गरेका छन्। ‘यस्ता अभिव्यक्तिले चिकित्सा पेशाको उच्च आदर्श र गरिमाको घोर अपमान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
चिकित्सकले आफूहरू प्यालेस्टाइनी जनताको साथमा रहेको र हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी सहित सबै रिहा हुनुपर्ने माग गरेका छन्।
इजरायलले अल अहली ब्याप्टिस्ट अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको ज्यान गएको थियो। आक्रमणबाट ज्यान गुमाउनेमा बालबालिका तथा महिला थिए। इजरायलले संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीको आवासीय विद्यालयमा समेत आक्रमण गरेको थियो।
पछिल्लो पाँच महीनादेखि जारी बमबारी र गोली प्रहारबाट ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ। मृतकमध्ये १३ हजारभन्दा बढी बालबालिका छन्।