वर्षमै तीन पटक रंग फेर्ने ताललाई चराले सफा बनाउँछ (फोटो फिचर)
शब्द/तस्वीरः भरतबन्धु थापा
सल्यान सदरमुकाम खलङ्गा बजारदेखि २४ किमी पश्चिम गुडेपछि पुगिन्छ– कुपिण्डे दह (ताल) । कर्णाली प्रदेशमा पर्ने यो दह आन्तरिक पर्यटकमाझ यति चर्चित छ कि पछिल्लो समय नगरपालिकाको नाम नै ‘बनगाड कुपिण्डे’ हुन पुग्यो ।
‘कुपिण्डे दहले वर्षमा तीनवटा रङ्ग बदल्ने गर्दछ’– यसो पनि भनिन्छ । रमाइलो चाहिं के भने वरिपरि जङ्गलले घेरिए पनि तालमा पात भने भेटिंदैनन् । यहाँ पात झ-यो कि चराले टिपिहाल्छ भन्नेहरु पनि छन् ।
झण्डै ३५ बिघा (२३.५३ हेक्टर) मा फैलिएको यो तालको नजिकै बराहदेव मन्दिर छ, जहाँ मंसीर शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्दछ । भक्तजनहरु धर्म र सौन्दर्य दुवैको आनन्द लिएर फर्कन्छन् ।
यो दह कसरी बन्यो ? वैज्ञानिक तथ्य खासै नसुनिए पनि किंवदन्ती भने रोचक छ । कथा अनुसार, दह बन्नुअघि यो ठाउँमा बस्ती थियो । बस्तीमा एक दिन साधु बास माग्न पुगेछन् तर कसैले बास दिन मानेनछन् । अन्त्यमा एक वृद्धाले बास त दिइन् तर उनीसँग साधुलाई दिने खानेकुरा भने केही रहेनछ ।
भोलिपल्ट बिहानै ती साधुले वृद्धालाई भनेछन्, “म साधुको भेषमा आएको कैलुबराह हुँ । अरुलाई बास नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु ।” अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै साधुले भनेछन्, “त्यो पहाडमा जाऊ, हिंड्दा बीचमा पछाडि फर्किएर नहेर्नू ।”
साधुको भनेझैं वृद्धा पहाडको टुप्पोमा पुगेर फर्केर हेर्दा गाउँ त दह बनिसकेछ । अहिले यही कुपिण्डे दह पर्यटकीय क्षेत्र बनेको छ । यो डुङ्गाबाट प्राकृतिक वातावरण र एकान्त महसूस गर्न सकिने ठाउँ भएको छ । अहिले यो दहको छेउछाउ विस्तारै माटोले पुरिंदै गएको छ । अतिक्रमण र फोहोर पनि बढ्दो छ । तालको नाम नै आफूसँग जोडेको नगरपालिकाबाट संरक्षणको आश गर्नु पक्कै पनि अन्यथा नहोला ।