विश्वासको मत सम्बन्धी प्रस्तावमा भोट दिन किन आएनन् तीन सांसद?
प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मत सम्बन्धी प्रस्तावमा एमाले, राप्रपा र जनमत पार्टीका एक-एक सांसद उपस्थित भएनन्।
प्रतिनिधि सभामा बुधबार विश्वासको मत सम्बन्धी प्रस्तावमा मताधिकार भएका २७१ मध्ये २६८ सांसदले मतदान गरे। जसमध्ये १५७ जनाले दाहालको पक्ष र ११० जनाले विपक्षमा मत जाहेर गरे। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी तटस्थ बसे।
एमालेका सांसदले दाहालको पक्षमा तथा राप्रपा र जनमत पाटीका सांसदले विपक्षमा मत दिएका थिए।
नेकपा (एमाले)का वसन्त नेम्बाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत र जनमत पार्टीकी सांसद सोनु मुर्मूले मतदान गरेनन्। नेम्बाङ र बस्नेत अस्वस्थ भएर मतदानमा अनुपस्थित भएका हुन्। बस्नेतले आफ्नो उपचार चलिरहेकाले बैठकमा उपस्थित हुन नसकेको बताइन्।
गत माघ १७ गते ताप्लेजुङको कार्यक्रममा सहभागी हुन गएका वेला अकस्मात् बिरामी परेपछि नेम्बाङलाई काठमाडौं ल्याइएको थियो। पारिवारिक स्रोतका अनुसार उनको उपचार जारी छ।
जनमत पार्टीकी सांसद मुर्मू भने आफ्ना श्रीमान्को उपचारका क्रममा भारतमा रहेकाले मतदानमा उपस्थित हुन नसकेको पार्टी उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।
एमाले सांसद टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित छन्। इलाम २ बाट निर्वाचित सुवास नेम्बाङको निधनपछि प्रतिनिधि सभाको एक स्थान रिक्त छ। इलाम-२ आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ।
यो पनि पढ्नुहोस् : प्रधानमन्त्री दाहालले पाए विश्वासको मत