प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ। उनले तेस्रो पटक विश्वासको मत लिएका हुन्।
प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ११० मत पर्यो। संसद्मा उपस्थित २६८ सांसदमध्ये एक जनाले कुनै पनि पक्षमा मतदान गरेनन्।
दाहालको विश्वासको मतको प्रस्तावका पक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)का सांसदले मत दिएका थिए।
त्यस्तै, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत दलका सांसदले विपक्षमा मतदान गरेका थिए। राष्ट्रिय जनमोर्चाका सांसदले कुनै पनि पक्षमा मतदान गरेनन्।
प्रधानमन्त्री दाहालले एमाले लगायत ६ दलसँग सत्ता गठबन्धन गरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको लिनुपर्छ।
यसअघि दाहालले दुई पटक विश्वासको मत लिनुपरेको थियो। २०७९ सालमा भएको निर्वाचनपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहालले विश्वासको मत लिएका थिए। त्यति वेला दाहाल एमाले लगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए।
त्यसको डेढ महीनापछि एमालेसँगको गठबन्धन तोडेर कांग्रेस लगायत दलसँग दाहालले सत्ता साझेदारी गरेका थिए। त्यति वेला एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपरेको थियो।