नेपाल फाइनलमा पपुवा न्यूगिनीसँग पराजित
हङकङमा भएको टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ।
मिसन रोड मैदानमा बुधबार भएको खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पपुवा न्यूगिनीले उपाधि जितेको हो। पपुवा न्यूगिनीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रनमै समेटियो।
नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र रोहित पौडेलले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
पपुवा न्यूगिनीका लागि कबुवा मोरिया, सेमो कमिया, सेसे बउ र चाड सोपरले दुई-दुई तथा अलेइ नावले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको पपुवा न्यूगिनी आठ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। पपुवा न्यूगिनीका लागि टोनी उराले अर्धशतक प्रहार गरे। उनले ३७ बलमा ६१ रन बनाए।
त्यस्तै, एली नाओले ३०, हिला भरले १८, हिरी हिरी हिरीले १५, किप्लिङ डोरिगाले १४ र चाड सोपरले १३ रन बनाएका थिए।
नेपालका लागि आकाश चन्द र कुशल भुर्तेलले तीन-तीन तथा करण केसी र गुल्सन झाले एक-एक विकेट लिएका थिए।