मलाई प्रधानमन्त्री हुने इच्छा छैन : केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री हुने इच्छा नभएको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा आए जस्तो प्रधानमन्त्रीका लागि सहमति नभएको दाबी गरे। “प्रधानमन्त्रीका लागि कसैले सहमति गरेको छैन,” ओलीले भने, “मलाई प्रधानमन्त्रीको इच्छा छैन।”
देशका समस्या समाधानका लागि केही गरौं भनेर कुराकानी गर्न खोज्दा पनि कांग्रेसले छलफल नगरेको उनको गुनासो थियो। “यो देशमा समस्या समाधान गरौं, कांग्रेससँग पनि भनेको हुँ,” ओलीले भने, “एमालेसँग कुरा चल्दैन। तीन–तीन वर्षसम्म कुरा गरौं भनेको त कुरै चल्दैन।”
अध्यक्ष ओलीले सबै मिलेर अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकाले एमालेले सरकारलाई विश्वासको मत दिने ओलीको भनाइ थियो।
प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन्।