त्रिकोणात्मक शृंखला : उपाधिका लागि नेपाल र पपुवा न्यूगिनी भिड्ने
हङकङ पुरुष अन्तर्राष्ट्रिय टी-२० शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यूगिनी भिड्ने भएका छन्।
यस त्रिकोणात्मक शृंखला अन्तर्गत आज भएको दोस्रो खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै पपुवा न्यूगिनीले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो। फाइनल खेल भोलि बुधबार हुनेछ। यसअघि आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जित हासिल गरेसँगै पपुवा न्यूगिनीले दुई खेलमा दुई अंक जोड्यो। हङकङ समान खेलबाट एक अंकका साथ फाइनल पुग्नबाट वञ्चित भयो। दुई खेल खेलेको नेपाल भने तीन अंक जोड्दै फाइनल पुगेको हो।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडिएको थियो।
आजको दोस्रो खेलमा हङकङले जितका लागि दिएको १२२ रनको लक्ष्य पपुवा न्यूगिनीले १२ ओभर चार बलमै कुनै विकेट नगुमाई पूरा गरेको थियो। पपुवा न्यूगिनीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र एक छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिएका थिए।त्यसैगरी टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाएका थिए।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १८ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल बनाएको थियो। हङकङका लागि जिसन अलीले २९ बलमा ६ चौका र एक छक्काको मद्दतले ५५ रन बनाएका थिए। नस्रुला राना र एहसान खानले समान १६-१६ रन जोड्दा बाबर हायतले १२ रन बनाएका थिए।
पपुवा न्यूगिनीका काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई-दुई विकेट लिएका थिए।