पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान
पाठेघरको मुखको क्यान्सर परीक्षण र रोकथामका लागि अभियान चलाइने भएको छ।
एनसेलसँगको साझेदारी र अस्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्यको सेवाप्रदायक संस्था मेरी स्टोप्स इन्टरन्याशनल नेपालले पाठेघरको मुखको क्यान्सर परीक्षण र रोकथामका लागि सचेतना अभियान चलाउने भएको हो।
अभियान अन्तर्गत विभिन्न जिल्लामा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने र खोपको माध्यमबाट क्यान्सर रोकथाममा सघाइने कम्पनीले जनाएको छ। नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर अग्रस्थानमा छ। सन् २०२२ मा दुई हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर भएको थियो भने सो वर्ष सोही रोगका कारण एक हजार ३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए।
गत बिहीबार घोषणा भएको यस अभियानले ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिला लक्ष्यित विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।