राष्ट्रिय सभा अध्यक्षमा ३९ मत सहित नारायण दाहाल निर्वाचित
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका छन्।
अध्यक्ष चयनका लागि मंगलबार भएको निर्वाचनमा ५६ मत खसेकाे थियाे। जसमध्ये दाहालले ३९ मत प्राप्त गरे। नातामा प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नारायणलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले मत दिए।
अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गरे। शर्मालाई अध्यक्ष बनाइयोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत परेको थियो। नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मत दिए।
एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले मतदानमा भागै लिएन।
को हुन् नवनिर्वाचित अध्यक्ष दाहाल?
माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनीत कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका थिए। चितवन स्थायी घर भएका उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थिए। २०३१ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।
अखिल नेपाल भारतीय संघमा काम गरिसकेका दाहाल माओवादी सशस्त्र द्वन्द्वमा सहभागी थिए। २०६३ को अन्तरिम व्यवस्थापिका संसद्मा मनोनीत भएका उनी २०६४ को संविधान सभामा सभासद् थिए।
याे पनि पढ्नुहाेस्:
भाइका लागि कांग्रेससँग सम्बन्धविच्छेद!