सन्दीपको विस्फोटक ब्याटिङमा नेपालले बनायो १९८ रन
सन्दीप जोरा र कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि नेपालले पपुवा न्यूगिनीलाई १९९ रनको लक्ष्य दिएको छ।
हङकङमा जारी टी २० प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले राम्रो शुरूआत गरेको थियो। नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे।
भुर्तेलले ३९ बलमा ५९ रन बनाए। त्यस्तै, भण्डारीले २२ बलमा २७ रन बनाए। रोहित पौडेल एक र आरिफ शेख चार रनमा आउट भए।
त्यसपछि आएका सन्दीप जोराले विस्फोटक ब्याटिङ गरेका हुन्। उनले २६ बलमा ५६ रन बनाए।
यसैगरी, विवेक यादवले १९, गुल्सन झाले १५ र लोकेश बमले १४ रन बनाए। मध्यम क्रमका ब्याटरले छक्का र चौका प्रहार गरेपछि नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको हो।
पपुवा न्यूगिनीका लागि असद भलाले दुई, नोसैना पोकना, जोन कारिको र नर्मन भनुवाले एक-एक विकेटले लिए।
प्रतियोगिताको पहिलो खेल पानी परेपछि अवरुद्ध भएको थियो। नेपाल र हङकङले एक-एक अंक बाँडेका थिए। आजको खेल जितेमा नेपाल फाइनलमा प्रवेश गर्नेछ।