सत्तारूढ गठबन्धनमा सहभागी नहुने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्तारूढ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सम्पन्न बैठकले विपक्षमा बस्ने निर्णय गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राप्रपाको निर्णयमा भनिएको छ, ‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ।’
यससँगै राप्रपाले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने निर्णय गरेको छ। कार्यसम्पादन समितिको निर्णयमा भनिएको छ, ‘प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ।’
राप्रपाको बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। ‘इलाममा हुने प्रतिनिधि सभाको र बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरिएको छ,’ राप्रपाले भनेको छ।
तीन दिनसम्म चलेको राप्रपा कार्यसम्पादन समितिको बैठकले १४ वटा निर्णय गरेको छ। जसमा सामयिक राजनीतिसँगै जनजीविकासँग सम्बन्धित छन्। मिटरब्याज, सहकारी, लघुवित्त, ब्यांक तथा वित्तीय संस्थाका कारबाहीका कारण समस्यामा परेका ऋणी तथा बचतकर्ताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, दुग्ध किसान तथा उखु किसानको भुक्तानी दिन बाँकी रकम तत्काल भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।