भाइका लागि कांग्रेससँग सम्बन्धविच्छेद!
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि नेपाली कांग्रेससँगको गठबन्धन तोडेको देखिन्छ।
नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धनलाई निरन्तरता नदिने बहस त नेपाली कांग्रेसमा भएको थियो, महासमिति बैठककै मुद्दा बन्ने गरी। तर गठबन्धन तोडे माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले। सत्ता निरन्तरताका लागि समीकरण फेर्न सिपालु दाहाल कांग्रेससँगको गठबन्धन एकाएक तोडेर आफैंले धोका दिएको नेकपा (एमाले)सँग पुनः जोडिन पुगेपछि जिज्ञासा जाग्नु अस्वाभाविक थिएन।
धेरैको आकलन थियो र छ, प्रधानमन्त्री पद जोगाउनकै लागि दाहालले गठबन्धन परिवर्तन गरेका हुन्। तर त्यसो नभएको स्पष्टीकरण उनी आफैंले दिए। कांग्रेससँगको गठबन्धन त्यागेर एमाले सहितको नयाँ गठबन्धन बनाएको भोलि पल्ट फागुन २४ मा प्रतिनिधि सभामा उनले भने, “अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहालका रूपमा म कुनै समस्या वा अप्ठ्यारोमा थिइनँ, न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो। नेपाली कांग्रेसको नेतृत्व र मेरा बीच व्यक्तिगत अविश्वास पनि केही थिएन। टिकिरहनु मात्र स्थायित्व हो भन्ने मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि त्यहाँ थिएन। यो करीब ११ महीना लामो साथ र सहकार्यप्रति म विशेषतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साथीहरूप्रति आभारी छु।”
त्यसो भए दाहालले किन छाडे त कांग्रेसको साथ?
“राष्ट्रिय सभा अध्यक्ष लिनका लागि भन्ने त थाहा थियो, आफ्नै भाइलाई अध्यक्ष बनाउनका लागि रहेछ भन्ने नारायण दाहालजीको उम्मेदवारीपछि थाहा भयो,” कांग्रेसका एक महामन्त्री भन्छन्।
ती महामन्त्रीका अनुसार दाहालले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने वचन दिएका थिए। “त्यो वचन पूरा गर्दा आफ्नो भाइ अध्यक्ष बन्न नपाउने भएकैले उहाँले कांग्रेसको साथ छाड्नुभएको रहेछ,” उनी भन्छन्।
फागुन १६ गते बसेको स्थायी समिति बैठकबाट राष्ट्रिय सभामा माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गराएर दाहालले कांग्रेसलाई यो संकेत दिइसकेका पनि थिए।
पछिल्ला घटनाक्रम हेर्दा पनि प्रधानमन्त्री दाहालले आफ्नै भाइका लागि नयाँ गठबन्धन बनाएका हुन् भन्ने देखिन्छ। दाइ पार्टी अध्यक्ष बनेको फाइदा उठाएर मनोनीत कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका नारायण दाहालको कार्यकाल जम्मा चार वर्ष छ। तर आफ्नै पार्टीका ६ वर्ष कार्यकाल भएका सांसदलाई अवसर नदिएर दाहालले भाइ रोजे। उनी पारिवारिक स्वार्थको घेरा भन्दामाथि उठेको भए ६ वर्षलाई राष्ट्रिय सभाको नेतृत्व माओवादीकै हुन्थ्यो।
संवैधानिक परिषद्को सदस्य समेत रहने राष्ट्रिय सभा अध्यक्ष पद दुई वर्ष थोरै कार्यकाल भएका व्यक्तिलाई दिन नहुने तर्क फागुन २७ मा बसेको माओवादी पदाधिकारी बैठकमा नउठेको पनि होइन। “तर अध्यक्षज्यूले अहिलेलाई नारायणलाई अघि बढाउनुको विकल्प छैन भन्नुभएपछि हाम्रो केही लागेन,” माओवादीका एक उपमहासचिवले हिमालखबरसँग भने।
घुमाउरो भाषामा दाहालले राजनीतिक परिणामकै लागि गठबन्धन फेरेको स्विकारेका पनि छन्। फागुन २४ गतेको प्रतिनिधि सभा बैठकमा उनले भनेका थिए, “अहिले पनि हाम्रो (कांग्रेससँगको) निजी सम्बन्धमा कम्तीमा मेरो तर्फबाट उत्ति नै सद्भाव छ। तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणामहरू निर्णायक हुन पुग्दा रहेछन्, र अघिल्लो गठबन्धनमा त्यही भयो।’
समावेशी नारा, असमावेशी व्यवहार
प्रधानमन्त्री दाहालले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि कांग्रेससँगको सहकार्य तोडेको भेउ नपाएका माओवादी सांसदहरूले नेतृत्वमा पुग्न ‘लबिइङ’ नगरेका होइनन्। खासगरी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी लगायतले फागुन २३ गते गठबन्धन भत्किए लगत्तै दौडधूप शुरू गरेका थिए।
उपाध्यक्ष अर्यालले अध्यक्ष दाबी गर्नु ‘रोलक्रम’ को हिसाबले पनि अस्वाभाविक थिएन। समावेशिताको हिसाबले पनि अर्यालको उम्मेदवारी आवश्यक देखिन्थ्यो। नयाँ गठबन्धन बनाउँदाको सहमति अनुसार उपाध्यक्ष एमालेको भागमा परेकाले अर्याल पदमुक्त हुने निश्चितप्रायः छ।
समावेशिताको चर्को भाषण गर्ने प्रधानमन्त्री दाहालको असमावेशी व्यवहारको यो नै पहिलो निर्णय भने होइन। २०७९ पुस १० मा प्रधानमन्त्री चुनिंदा एमालेसँगको सहमति अनुसार उपराष्ट्रपति माओवादीको भागमा परेको थियो। तर दाहालले जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने निर्णय गरे।
उनको यो निर्णयले तीन वटा असर देखियो। पहिलो, संविधानको धारा ७० मा भएको ‘फरक समुदाय वा लिंगको’ हुनुपर्ने भन्ने प्रावधानको अपव्याख्या गरेर महिलालाई उपराष्ट्रपति बन्ने अवसरबाट वञ्चित गरियो। दोस्रो, सप्तरी २ का मतदाताले कम्तीमा पाँच वर्षलाई चुनाव हराएका जसपा अध्यक्ष उपेन्द्र यादव एक वर्ष नबित्दै बारा २ बाट सांसद बनेर आए।
तेस्रो, माओवादीले पाइसकेको उपराष्ट्रपति जसपाको हातमा पुग्यो। यसले देखाउँछ दाहालका लागि आफू र आफ्नो परिवारका अगाडि देश र जनता त परको कुरा, माओवादी पार्टी समेत केही होइन।