सुदूरपश्चिममा सात सांसद रहेको नाउपाका पाँच मन्त्री
सुदूरपश्चिम प्रदेशमा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का पाँच जना मन्त्री बनेका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएका छन्। नवनियुक्त मन्त्री चौधरीलाई सोमबार साँझ प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। उनको जिम्मेवारी तोक्न चाहिं बाँकी छ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा पनि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। अल्पमतमा परेपछि मुख्यमन्त्री शाहले नाउपाका मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
यसअघि फागुन २५ मा नाउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, प्रमुख सचेतक खुशीराम चौधरी विना विभागीय मन्त्री र इन्दिरा गिरी भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका थिए।
नाउपाबाटै रामेश्वर चौधरी भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री छन्। उनी माओवादी र एकीकृत समाजवादीसँगै सरकारमा थिए।
सोमबार नियुक्त भएका लक्ष्मणकिशोरसँगै सुदूरपश्चिम सरकारमा नाउपाबाट पाँच मन्त्री भएका छन्। जबकि सुदूरपश्चिममा नाउपाका सात सांसद छन्।
यसअघि सरकारमा सहभागी कैलाश चौधरीलाई पनि मन्त्री बनाउने तयारी छ। सरकार जोगाउन नाउपाका ६ जनालाई मन्त्री बनाउने सहमति बनेको एक नेताले बताए।
अहिले सुदूरपश्चिम सरकार आठ सदस्यीय बनेको छ। जसमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री शाह सहित तीन जना छन्। कांग्रेसबाट भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा र आन्तरिक मामिला तथा कानूनीमन्त्री शिवराज भट्ट छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ सदस्य छन्। बझाङ १ ‘क’ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ।
प्रदेश सभामा कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का १०, नाउपाका सात, एकीकृत समाजवादीका पाँच र राप्रपाका एक सांसद छन्। बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।