पुष्प प्रदर्शनी चैत पहिलो साता
काठमाडौंको भृकुटीमण्डपमा चैत पहिलो साता पुष्प प्रदर्शनी हुने भएको छ।
आउँदो चैत १ देखि ४ गतेसम्म ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नारा सहित प्रदर्शनी आयोजना गर्न लागिएको पुष्प व्यवसायीको संस्था फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए। “कोभिड–१९ महामारीका कारण खुम्चिएको पुष्प व्यवसायले बल्लबल्ल गति लिन थालेको छ। बजार विस्तार र व्यवसाय विस्तारका लागि प्रदर्शनीले सहयोग गर्ने अपेक्षा छ,” अध्यक्ष तामाङले भने।
पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत छ। यसलाई बढाउने प्रयासका रूपमा प्रदर्शनी गर्न लागिएको उनको भनाइ छ।
प्रदर्शनीमा ६० वटा व्यावसायिक स्टल, ल्यान्डस्केप स्टल तीन वटा, अफिसियल स्टल आठ, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा रहने फ्लोरिकल्चर एशोसिएशनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले बताए। सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गरी प्रदर्शनीमा ५० हजार अवलोकनकर्ता आउने र रु.एक करोड हाराहारीको कारोबार हुने अपेक्षा गरिएको पन्तको भनाइ छ।
मेलामा सहभागी पुष्प व्यवसायीबीच विभिन्न विधामा प्रतिस्पर्धा गरिनेछ। उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावरमा प्रतिस्पर्धा हुने जनाइएको छ।
पुष्प व्यवसायको विस्तार तथा प्रवर्द्धन गर्न फ्लोरिकल्चर एशोसिएशनले बर्सेनि क्षेत्रीय तथा राष्ट्रिय प्रदर्शनी गर्दै आएको छ। प्रदर्शनीमा लायन्स क्लब अफ काठमाडौं ग्लोबलले रक्तदान कार्यक्रम पनि आयोजना गर्नेछ।
२०४९ सालमा फ्लोरिकल्चर एशोसिएशनको स्थापना हुँदा देशभर लगभग ८० वटा नर्सरी थिए। अहिले ४८ जिल्लामा २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय विस्तार भएको छ। पुष्प व्यवसायले झन्डै ४४ हजार जनालाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिएको जनाएको छ।
एशोसिएशनका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु.तीन अर्ब सात करोडभन्दा बढीको पुष्प कारोबार भएको थियो। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ६८ लाख रुपैयाँको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात भएको थियो।