विराटनगरका होटलमा प्रहरीको छापा, ५६ जना पक्राउ
प्रदेश १ को राजधानी विराटनगरका विभिन्न होटलमा छापा मारेर प्रहरीले शुक्रबार अपरान्ह ५६ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रमाणविनै होटल तथा रेस्टुरेन्टमा छापा मारेर पक्राउ गरिएका सबैलाई मुद्दा नचलाई छाडिने प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका २७ महिला र २९ पुरुष छन् । अनैतिक गतिविधि नियन्त्रण गर्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी राजकुमार खिउजुले पक्राउ परेकाहरू अनैतिक कार्यमा संलग्न नभेटिएकाले सबैलाई अभिभावकको जिम्मा लगाएर छाडिने बताए ।
प्रदेशको राजधानी विराटनगरमा आएर बास बस्ने पर्यटकलाई पक्राउ गरेर उनीहरूको इज्जतमा खेलवाड गरेको क्षेत्रीय होटल संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठ बताउँछन् ।
“प्रहरीले शंकाको भरमा पक्राउ गर्ने र निर्दोष भन्दै छाड्ने गरेको छ”, उनले भने, “कतिपय उपचारमा आएकाहरूलाई पनि प्रहरीले पक्राउ गर्ने गरेको छ ।”
प्रदेश १ का १४ वटै जिल्ला र भारत बिहारबाट पनि उपचारका लागि गिराटनगर आउने गरेका छन् ।
“विराटनगर प्रदेशको राजधानीका रूपमा विकास भए पनि मानिसको सोचको विकास भएको छैन”, होटल व्यवसायी महासंघ प्रदेश १ का उपाध्यक्ष भविष श्रेष्ठले भने ।
नयाँ प्रहरीको नयाँ फुर्ति भएकाले अनावश्यक रूपमा मानिसलाई नियन्त्रणमा लिएको उनी बताउँछन् ।
“होटलमा गएर प्रहरीले शंकाकै भरमा मान्छेलाई नियन्त्रण गर्न थालेपछि भारतबाट आउने पर्यटकमा गत वर्षको तुलनामा ५० प्रतिशत कमी आएको छ”, उपाध्यक्ष श्रेष्ठले भने, “गत वर्ष पनि एक दम्पतीलाई थुनेर प्रहरीले छाड्यो, निर्दोष थुनिन्छन् यसको जिम्मेवारी कसले लिने ।”
यस वर्षको साउनको सोमबार धरानको पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने भारतीय पर्यटक कम आउनुको कारण प्रहरीले गर्ने व्यवहार नै भएको उनले बताए ।