‘कार टी सेल थेरापी अमेरिकामा भन्दा १० गुणा सस्तोमा उपलब्ध गराउँछौं’
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा स्नातकोत्तर गरेका सञ्जीवन गौतमले जर्मनीको युनिभर्सिटी अफ फ्राइबर्गबाट विद्यावारिधि गरे। अमेरिकाको न्याशनल क्यान्सर इन्स्टिच्यूटबाट ‘पोस्टडक्टरल’ गरेका उनी अहिले बेलायतको एस्ट्राजेनेका फर्मास्युटिकल्सको ‘सेल थेरापी’ विभागका सहनिर्देशक छन्। एस्ट्राजेनेका फर्मास्युटिकल्समा उनले क्यान्सरको उपचारमा प्रयोग हुने ‘कार टी सेल थेरापी’ र ‘इम्युनो अन्कोलोजी’ मा काम गरिरहेका छन्। भर्खरै नेपाली प्रयोगशालामा कार टी सेलको परीक्षण सफल भएको उनको समूहको दाबी छ। अबको एक वर्षभित्र यो प्रविधि नेपाली बिरामीमा प्रयोग गर्ने उद्देश्य राखेर काम भइरहेको छ। कार टी सेल थेरापी र नेपालमा यसको सान्दर्भिकता लगायत विषयमा गौतमसँग हिमालखबरका सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :
‘कार टी सेल थेरापी’ कस्तो उपचार प्रविधि हो?
‘कार टी सेल’ बिरामीकै शरीरभित्र रहेको ‘टी’ नामक प्रतिरक्षा कोषको प्रयोग गरेर उपचार गरिने प्रविधि हो। शरीरभित्र, खासगरी रक्तप्रणालीमा हुने ‘टी’ कोषलाई निकालेर प्रयोगशालामा जेनेटिक इन्जिनीयरिङ गरी क्यान्सर चिनेर त्यस विरुद्ध क्रियाशील हुन सक्ने बनाएर बिरामीको शरीरभित्र पठाइन्छ, जसले क्यान्सरलाई मार्न सक्छ। प्रयोगशालामा बनाइएका कोषहरूले काइमरिक एन्टिजेन रिसेप्टर (कार) भन्ने प्रोटिन बोक्छन्, जसलाई ‘कार टी सेल’ भनिन्छ।
खासगरी क्यान्सरले शरीरको रोग प्रतिरोधात्मक क्षमता बोकेका ‘टी सेल’ लाई छल्ने र आफू विरुद्ध सक्रिय हुन नदिने उपाय अपनाउँछ। निष्क्रिय रहेका यिनै ‘टी सेल’ लाई क्यान्सर विरुद्ध सक्रिय पार्ने तरीका हो, ‘कार टी सेल’ पद्धति।
विकसित मुलुकहरूमा भएका अध्ययनले के देखाउँछन् भने अरू उपचार पद्धतिले निको नभएका क्यान्सर बिरामीहरू, खासगरी रक्त क्यान्सर लागेकाहरू कार टी सेल थेरापीले निको भएका छन्। जस्तै- ‘बी सेल’ क्यान्सर लागेका ७५ प्रतिशत बिरामी पूर्ण रूपमा निको भएको तथ्यांक छ।
प्रतिरक्षा कोष बिरामीबाट मात्र झिकिन्छ कि अन्य मानिसबाट पनि?
कार टी सेल दुवै तरीकाबाट बनाउन सकिन्छ। बिरामीबाट निकालिएको टी सेलबाट बनाउने तरीकालाई निजीकृत कार टी भनिन्छ भने स्वस्थ मानिसको टी सेलबाट बनेकोलाई ‘एलोजेनिक’ भनिन्छ।
धेरैजसो उपचार प्रविधि विकसित देशमा पुरानो भएपछि नेपाल जस्ता विकासशील देशमा भित्रिन्छन्। कार टी सेल थेरापी चाहिं नेपालमा यति छिटो ल्याउन कसरी सम्भव भयो?
कार टी सेलको प्रभावकारिताको अध्ययन सन् २००७ पछि शुरू भएको हो। यसलाई अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले सन् २०१७ मा अनुमति दिएसँगै विभिन्न देशमा यो प्रविधिबाट उपचार भइरहेको छ।
अरू देशमा पुरानो भइसकेपछि या अर्को प्रविधिमा फड्को मारेपछि धेरैजसो उपचार प्रविधि नेपालमा भित्रिन्छन्। किनकि स्रोतसाधन र जनशक्ति अभावका कारण छिटो ल्याउन सम्भव हुँदैन। हामी सबै कुरामा पछाडि भएकाले कुनै काम छिटो हुँदा प्रश्न आउनु स्वाभाविकै हो। तर यो प्रविधि नेपालमा भित्र्याउन कसैको एकल प्रयासले सम्भव हुँदैन। सोही कारण हामी विभिन्न संघसंस्थासँग समन्वय गर्दै छौं। प्रविधि भित्र्याउनासाथ उपचार शुरू गर्न सकिन्न। उच्च गुणस्तरीय प्रयोगशालामा काम गर्न सक्ने दक्ष जनशक्ति चाहिन्छ। हालसम्म त्यस्ता जनशक्ति नेपालमा छैनन्। त्यसैले बायोलोजिस्ट, इम्युनोलोजिस्टहरूलाई थप ज्ञान र सीप सिक्न विदेशमा पठाएका छौं। त्यस्तै, केही जनशक्ति विदेशबाट ल्याउनुपर्छ। यो प्रविधिमा काम गर्न मोलिक्यूलर बायोलोजिस्ट, सेलुअर बायोलोजिस्ट, इम्युनोलोजिस्ट र क्यान्सर रोगका विशेषज्ञ टीमको समन्वय चाहिन्छ।
हालै मात्र नेपालको प्रयोगशालामा कार टी सेलको सफल परीक्षण भइसकेको छ। वैदेशिक सहयोग, विभिन्न निकायबीचको आन्तरिक समन्वयले यो सम्भव भएको हो। यसपछिको प्रमुख चुनौती कार टी सेललाई बिरामीमाझ ल्याउनु हो। यसका लागि सरकारी निकाय र चिकित्सकहरूसँग समन्वय आवश्यक छ ।
नेपालमा सामान्य किसिमको परीक्षण ल्याब बनाउन पनि खर्चिलो भएकाले भारतको भर पर्नुपर्ने अवस्था छ। कार टी सेल थेरापी अभ्यास गर्न यहाँ त्यस किसिमको ल्याब कसरी बन्ला?
पहिलो त, यो पद्धति ल्याउन थेरापी सम्बन्धी ज्ञान छ कि छैन भन्ने प्रश्न हो। दोस्रो, हामीसँग यो प्रविधि सञ्चालन गर्न सक्ने जनशक्ति छ कि छैन? तेस्रो र धेरै महत्त्वपूर्ण विषय, हाम्रा सरकारी निकाय बिरामीलाई टेवा पुग्ने नयाँ पद्धति ल्याउन कति सहयोगी बन्छन् भन्ने हो। अघिल्ला दुई प्रश्नको कुरा गर्दा हामीले नेपाली चिकित्सक तथा वैज्ञानिक समाजलाई यो थेरापी सम्बन्धी जानकारी दिन गत वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गरेका थियौं र हरेक वर्ष यो विधा सम्बन्धी तालीम सञ्चालन गर्ने उद्देश्य राखेका छौं। जनशक्ति तयार गर्न अमेरिका र जर्मनीमा हाम्रा वैज्ञानिकहरूलाई तालीमका लागि पठाएका पनि छौं। औषधि व्यवस्था विभाग जस्ता सरकारी निकायहरूबाट समन्वयको अपेक्षा राखेका छौं। यो उच्च प्रविधि नेपालका क्यान्सर रोगीको पहुँचमा पुर्याउन यसलाई भित्र्याउन जरुरी छ। यति गर्न सकियो भने ल्याब बनाउन ठूलो समस्या होइन।
हामी विभिन्न किसिमका औषधि र भ्याक्सिन विदेशबाट ल्याएर प्रयोग गर्छौं। कार टी सेल चाहिं जुन देशमा प्रयोग गरिने हो त्यहीं बनाउनुपर्ने हो?
नेपालबाट रगत विदेश पठाएर अरू देशमा कार टी सेल बनाएर पनि ल्याउन सकिन्छ। तर त्यसमा प्रश्न धेरै आउँछ। किनकि कोषको गुणस्तर नहुन सक्छ। पहिले बिरामीबाट कोष निकाल्नुपर्यो, त्यसको गुणस्तर परीक्षण गर्नुपर्यो र विदेश पठाउनुपर्यो। यति लामो प्रक्रिया अपनाउँदा कोष जीवित नरहन सक्छ। कोष जीवित भए पनि गुणस्तर नहुन सक्छ।
यहाँबाट कोष पठाउँदा निश्चित तापक्रममा राखेर पठाउनुपर्छ। विदेशको ल्याबमा जीन इन्जिनीयरिङ गरेर नेपाल ल्याउनुपर्छ। यस प्रक्रियामा धेरै समय लाग्छ। तर कार टी सेल भनेको साधारणतया अरू सबै उपचारले काम नगरेपछि अन्तिम विकल्पमा गरिने उपचार भएकाले यति लामो समय कुर्दा बिरामीको अवस्था जे पनि हुन सक्छ। त्यतिन्जेल बिरामी अस्पतालमै बस्नुपर्ने भएकाले खर्च पनि धेरै बढ्छ। त्यस्तै, विभिन्न देशका नियमनकारी निकायले कोष लिन प्रतिबन्ध लगाएको छ। जस्तै, चीनमा नेपालबाट कोष पठाउन मिल्दैन।
यस्ता विविध कारणले कार टी सेलको उत्पादन आफ्नै देशमा गर्नु फाइदाजनक हुन्छ। आफैं उत्पादन गर्दा मूल्य कम पर्छ, बिरामीलाई ताजा र गुणस्तरीय कोष दिन सकिन्छ र आत्मनिर्भर पनि भइन्छ।
अरू कुनै उपचारले काम नगरेपछि अन्तिम उपचारका रूपमा कार टी सेल थेरापी प्रयोग गरिने भन्नुभयो। त्यसो भए त धेरै बिरामीको उपचारमा काम नलाग्ने देखियो नि है?
यो नयाँ उपचार पद्धति हो। अहिलेसम्म जति उपचार गरिएको छ, तिनमा राम्रो प्रभावकारिता देखिए पनि यसबारे अरू उपचार पद्धति जसरी विस्तृत बुझ्न बाँकी नै छ। एफडीएले सन् २०१७ मा कार टी सेललाई अनुमति दिंदा ‘टर्मिनल्ली इल’ (गम्भीर बिरामी)लाई दिने भनेको थियो। तर अहिले एफडीएले पहिलो लाइनको औषधिले काम नगरेपछि दोस्रो लाइनमा दिन मिल्ने भनेको छ। त्यस्तै, बिरामी पक्ष यो थेरापी गराउन तयार छ र अनुमति दियो भने यो थेरापी लिन पाइन्छ।
पछिल्लो समय रक्त क्यान्सरमा मात्र नभएर अन्य क्यान्सर र रोगहरूमा पनि यसको प्रयोग बढ्दो छ। जस्तै- पेट, आन्द्रा, फोक्सो, मिर्गौला, मस्तिष्क, पाठेघर, योनि प्रोस्टेट, कलेजो, मधुमेह, अटो-इम्युनका बिरामीमा पनि कार टी सेलको अध्ययन भइरहेको छ र राम्रो नतीजा देखिन थालेको छ। यसले के संकेत गर्छ भने यो पद्धति धेरै उपयोगी छ र यसलाई सकेसम्म छिटो नेपालमा ल्याउनुपर्छ।
विदेशमा समेत क्यान्सरको अन्य उपचार पद्धतिभन्दा यो महँगो हुने रहेछ। नेपालीहरूले यसको खर्च धान्न सक्लान् त?
धेरै नेपाली विदेश पुगेर धेरै खर्चमा यो थेरापी लिनुहुँदो रहेछ। यो थेरापीको मूल्य अमेरिकामा साढे तीन लाखदेखि चार लाख अमेरिकी डलरसम्म पर्दो रहेछ। हामीले अरू संस्थासँग समन्वय गर्ने भएकाले नेपालमा सस्तो पर्न जान्छ। किनकि रिएजेन्ट लगायत अरू सामान ल्याउन विभिन्न संस्थाले सहयोग गर्ने भएका छन्। अमेरिकामा भन्दा १० गुणा सस्तोमा यो थेरापी उपलब्ध गराउने लक्ष्य राखेका छौं।
नेपालमा कुनै पनि भ्याक्सिन या औषधि सामग्री उत्पादन गरेपछि नियमनकारी निकाय औषधि व्यवस्था विभागसँग अनुमति लिनुपर्छ। तर विभागसँग यो नयाँ उपचार प्रविधिको परीक्षण गरेर अनुमति दिने क्षमता नभएको अवस्थामा काम कसरी अगाडि बढाउनुहुन्छ?
कतिपय अवस्थामा नजीरका रूपमा हेरेर अगाडि बढ्नुपर्छ। कार टी सेल थेरापी अमेरिकाको एफडीएले रक्त क्यान्सरको उपचारमा अनुमति दिइसकेको विधि हो। भारतमा पनि शुरू भइसकेको छ। सोही कारण विभागले हामीलाई अघि बढ्नुस् भनेको छ। हामीले गरेको काम नियामक निकायका लागि पनि सिकाइ प्रक्रिया हो। हामीले आगामी दिनमा पनि समन्वयको आशा राखेका छौं।
क्यान्सरका विभिन्न उच्चतम प्रविधि आइरहे पनि नेपालमा भने बिरामीले सामान्य केमोथेरापी र रेडियोथेरापी पाउन पनि महीनौं कुर्नुपर्ने र नपाएर मर्नुपर्ने अवस्था छ। यो स्थितिमा तपाईंहरूले भित्र्याउन खोजेको महँगो प्रविधिको सान्दर्भिकता कति छ?
क्यान्सरको उपचारमा आममानिसले धेरै समस्या भोग्ने गरेका छन्। यस्तो उपचार सहज रूपमा पाउनु नागरिकको अधिकार हो र त्यो प्रबन्ध मिलाउनु राज्यको दायित्व हो। हामी आफैंले यो थेरापी कम खर्चमा उपलब्ध गराउने मात्र होइन, विपन्न नागरिकलाई सेवा दिन केही संस्थासँग सहयोग लिने विचार गरेका छौं।
अहिलेसम्मका क्लिनिकल डेटाहरू (विशेष गरी रक्त क्यान्सरमा आएका डेटा) हेर्दा कार टी सेलको भविष्य उज्ज्वल छ। तर रक्त क्यान्सर बाहेक अन्य क्यान्सरमा कार टी सेल पर्याप्त नहुन सक्छ। किनकि अरू क्यान्सरको भित्री तत्त्वमा कार टी सेल पुग्न गाह्रो हुन्छ। पुगे पनि अन्य क्यान्सरमा प्रतिरोधी क्षमता दबाउने वातावरण हुने भएकाले कार टी सेल रक्त क्यान्सरमा जस्तो प्रभावकारी हुँदैन। पेट, आन्द्रा र कलेजोको क्यान्सरमा केही हदसम्म यो प्रभावकारी देखिएको छ। प्रभावकारिता बढाउन अन्य थेरापी जस्तै ‘चेक पोइन्ट ब्लकेड थेरापी’ सँगै कार टी दिने प्रचलन पनि शुरू भएको छ। त्यसैले कार टी सेलको भविष्य राम्रो छ भन्ने लाग्छ। यो थप अध्ययनको विषय हो।
विदेशी संस्थामा काम गरेको अनुभव बोकेर नेपालमा नवप्रवर्तन गर्न आउने अधिकांश विज्ञ नेपालमा प्रशासनिक झन्झटले काम गर्न गाह्रो हुने गुनासो गर्छन्। यस्तो झन्झट तपाईंहरूले कति बेहोर्नुपर्यो?
यस्ता झन्झट हामीले अहिले पनि बेहोरिरहेका छौं। कतिपय अवस्थामा सानो कामका लागि पनि महीनौं कुरेका छौं। प्रक्रियागत झन्झट त छँदै छ, त्यसमाथि यो नौलो विषय भएकाले नियामक निकायहरूलाई हाम्रा आवेदन-पत्रहरूमाथि काम गर्न धेरै समय लागेको देखियो।
विकासशील मुलुकमा काम गर्न अन्य देशमा जस्तो सहज हुन्न। कुनै पनि योजनामा अप्ठ्याराहरू आउँछन्। सबैले सुझबुझका साथ समन्वय गरेर अगाडि बढ्न जरुरी छ।