विश्वासको मत दिन लिखित सहमति गर्नुपर्ने एकीकृत समाजवादीको शर्त
सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन लिखित सहमति गर्नुपर्ने शर्त राखेको छ।
एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले लिखित सहमति गर्नुपर्ने तय गरेको प्रमुख सचेतक मेटमणि चौधरीले बताए। “हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिन सक्छौं,” चौधरीले भने, “प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा सकारात्मक हुन सक्छौं।”
प्रधानमन्त्री दाहालसँग एकीकृत समाजवादीले केही कुरा राखेको उनले बताए। आफ्नो पार्टीले के कुरा राखेको छ भन्ने चाहिं खुलाएनन्।
एकीकृत समाजवादीले राखेका कुरामा लिखित सहमति नभए मत नदिने चौधरीको भनाइ छ। “उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौं, ठान्दैनौं,” बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा चौधरीले भने, “सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ। सहमत हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनुहुन्न।”
राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार निर्वाचन हुँदै छ। सत्तारूढ गठबन्धनबाट माओवादीका नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मा उम्मेदवार बनेका छन्। त्यस्तै, प्रधानमन्त्री दाहाल फागुन ३० गते प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्।