इलाम २ मा उम्मेदवारी दिने रास्वपाको निर्णय
सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।
सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको केन्द्रीय सदस्य गणेश कार्कीले बताए। बैठकपछि केन्द्रीय सदस्य कार्कीले हिमालखबरसँग भने, “इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय भएको छ।”
२०७९ सालको निर्वाचनमा इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्बाङको निधन भएको थियो। उनको निधनपछि रिक्त स्थानमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।
गठबन्धनमा रहेका दलले संयुक्त रूपमा उम्मेदवारी दिने कसरत गरिरहेका छन्। सत्तारूढ गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) छन्। सत्तारूढ गठबन्धनमा रहे पनि रास्वपाले एक्लै उम्मेदवारी दिने निर्णय गरेको हो।