रूसी र युक्रेनी सेनामा भर्ना भएका तनहुँका आठ युवा सम्पर्कविहीन
रूसी र युक्रेनी सेनामा भर्ना हुन गएका तनहुँका आठ जना सम्पर्कविहीन भएपछि परिवारजनले खोजीका लागि आग्रह गरेका छन्।
व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन छन्। उनीहरू सबै भ्रमण भिसामा रूस र युक्रेन गएका थिए।
उनीहरू सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रूसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवाका परिवारजनले निवेदन दिएको बताइन्।
“व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सात जना रूसी सेनामा र म्यादेका एक जना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजिदिन परिवारजनले निवेदन दिनुभएको छ,” रानाले भनिन्। उनीहरू दुई-तीन महीनादेखि सम्पर्कविहीन भएको परिवारजनले दिएको निवेदनमा उल्लेख छ।
सम्पर्कविहीनहरूको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको उनले बताइन्। रूसमा सम्पर्कविहीन व्यक्तिको खोजीका निम्ति पहल भइरहेको उनले सुनाइन्। -रासस
यो पनि पढ्नुहोस् :