राष्ट्रिय सभाका अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी
राष्ट्रिय सभा अध्यक्षका लागि सांसदद्वय नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयले पुगेर सोमबार बिहान दाहाल र शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्न दुवै जना सँगसँगै संसद् भवन पुगेका थिए।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट दाहालले उम्मेदवारी दिएका छन्। उनलाई नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पाटीको समर्थन छ। सत्तारूढ गठबन्धनमा माओवादीलाई सघाउने सहमति बनेको थियो।
त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट शर्माले उम्मेदवारी दिएका हुन्। यसअघि कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरिएको थियो। तर माओवादीले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग सत्ता साझेदारी गरेको थियो। त्यसपछि सिटौला पछि हटेका थिए।
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। मंगलबार राष्ट्रिय सभामा निर्वाचन हुनेछ।
अहिले राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक जना सांसदको मनोनयन हुन बाँकी छ। यसअघि मनोनीत सांसद विमला पौड्याल राईको पदावधि सकिएको थियो।