डेढ महीना बन्द गरिंदै कान्ति राजपथ
ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिंगन भएर हेटौंडा पुग्ने कान्ति राजपथ डेढ महीना बन्द हुने भएको छ।
ललितपुरको काल्चे खण्डको सडक चौडा गर्न आगामी चैत १ गतेदेखि वैशाख १५ गतेसम्म कान्ति राजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनीयर रवीन्द्र महर्जनले बताए। “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ,” महर्जनले भने, “यस खण्डको साँघुरो ठाउँमा करीब १.५ किलोमिटर सडक चौडा गर्न लागिएको हो। सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ। यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो।”
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङ सहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो। बैठकले कान्ति राजमार्ग खण्डमा एम्बुलेन्स लगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय समेत गरेको छ।
२०१३ सालमा काठमाडौंलाई हेटौंडासँग जोड्ने सडकमार्गको शिलान्यास गरिए पनि करीब पाँच किलोमिटर खण्ड अझै कालोपत्रे हुन बाँकी रहेको इन्जिनीयर महर्जनले बताए। सरकारले प्राथमिकता नदिंदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा यो सडक ६७ वर्षदेखि निर्माणाधीन छ।
कान्ति राजमार्गको हेटौंडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर छ। यसमध्ये बुद्धचोकदेखि टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो। बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय, ललितपुरको हो।
टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो-सुनाकोठीको भाग चौडा हुन सकेको छैन। त्यसपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी, भैंसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ। भैंसेपाटीसम्म सडक चौडा भएपछि छम्पी-टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै छ। -रासस