अस्कर्स २०२४ : ओपनहाइमर बन्यो उत्कृष्ट चलचित्र
९६औं अस्कर्समा चलचित्र ओपनहाइमरले दबदबा कायम गरेको छ।
लस एन्जेलेसस्थित ओभेशन हलिउडमा भएको समारोहमा ओपनहाइमरले उत्कृष्ट चलचित्र सहित सात विधामा अस्कर जित्यो। कुल १३ विधामा मनोनीत ओपनहाइमरले उत्कृष्ट निर्देशक (क्रिस्टोफर नोलन), उत्कृष्ट अभिनेता (किलियन मर्फी), उत्कृष्ट सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), उत्कृष्ट छायांकन (होएटे भान होएटेमा), उत्कृष्ट सम्पादन (जेनिफर लेम) र उत्कृष्ट मूल ध्वनि (लुडविग गोरानसन)मा समेत प्रतिष्ठित अस्कर जित्न सफल भयो।
ओपनहाइमरका लागि सम्पादनतर्फ अस्कर जितेकी जेनिफर सन् २०१५ यताकै सम्पादन विधामा अस्कर जित्ने पहिलो महिला हुन्। यस्तै, ५३ वर्षीय क्रिस्टोफर नोलनले यसअघि पाँच पटक मनोनयनमा परे पनि अस्कर जित्न सकेका थिएनन्। यस पटक चाहिं उनी उत्कृष्ट निर्देशकमा अस्कर जित्न सफल भए। नोलनलाई अर्का दिग्गज चलचित्र निर्देशक स्टिभन स्पिलबर्गले अस्कर हस्तान्तरण गरेका थिए।
यस्तै, चलचित्र पूअर थिंग्सले चार विधामा अस्कर जित्यो। उत्कृष्ट अभिनेत्री (एमा स्टोन), उत्कृष्ट वेशभूषा (होली वाडिङटन), उत्कृष्ट शृंगार र हेअरस्टाइलिङ (नादिया स्टेसी, मार्क कूलिअर र जोश वेस्टन) तथा उत्कृष्ट प्रोडक्शन डिजाइन (जेम्स प्राइस र स्होना हिथ)विधामा यस चलचित्रले बाजी मार्यो।
चलचित्र बार्बीले भने एउटा मात्र अस्कर हात पार्यो। बार्बीका लागि उत्कृष्ट गीततर्फ बिली एलिश (वाट् वज आई मेड फर?)ले अस्कर जिते। उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार द होल्डओभर्सका लागि डाभिन जोय रान्डोल्फले जितिन्।
यस्तै, एनाटोमी अफ अ फलले उत्कृष्ट पटकथा तथा द जोन अफ इन्ट्रेस्टले उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रमा पुरस्कार जिते। ट्वेन्टी डेज इन मरिउपोल उत्कृष्ट वृत्तचित्र ठहरियो।
अस्कर्सको ९६ वर्षको इतिहासमा एउटा चलचित्रले अधिकतम ११ विधामा मात्र पुरस्कार जितेको छ। यस्तो उपलब्धि हासिल गर्ने केवल तीन चलचित्र छन्- टाइटानिक, लर्ड अफ द रिंग्स : द रिटर्न अफ द किंग र बेन-हर।
१३ विधामा मनोनीत ओपनहाइमरले यो कीर्तिमान बनाउन सक्ने आकलन गरिए पनि सात विधामा अस्कर जित्दै ओपनहाइमर यो संस्करणमा सबैभन्दा बढी पुरस्कार जित्ने चलचित्र भने बन्यो।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा